‘ओशो महोत्सव नेपाल २०१९’ नगरकोटमा आयोजना हुँदै
काठमाडौं । भक्तपुरको नगरकोटमा चार दिने ओशो ध्यान शिविर हुने भएको छ ।
‘ओशो महोत्सव नेपाल –२०१९’ नाम दिइएको सो शिविरमा फागुन २१ देखि चार दिनसम्म सञ्चालन हुनेछ । विभिन्न देशका पुराना ओशो सन्यासीहरुको सहभागीता हुने शिविर ‘ओशो नव सन्यास दिक्षा’मार्फत समापन हुनेछ ।
नगरकोटको हिल्स साइड होटलमा हुने शिविरका लागि अमेरिकाबाट ‘वन स्काई ब्यान्ड’का संयोजक स्वामी मिला रेपा आइपुगेका छन् । उनी दुई हप्ता नेपालमै रहने आयोजक पक्षले जानकारी दिएको छ ।
सन् १९७६ मा ओशोबाट ‘नव सन्यास दिक्षित’ स्वामी मिलारेपाले पुनास्थित ओशो कम्युन र रजनिशपुरम्मा १० वर्ष बिताएका थिए । रजनिशपुरम् कम्युन अमेरिकी सरकारले ध्वस्त पारेपछि उनी ओशोसँगै विश्व भ्रमणमा निस्केका थिए ।
भ्रमणपछि ओशोले पुना आश्रमको संगीत र उत्सव टिमको प्रमुखमा मिला रेपालाई नियुक्त गरेका थिए । ओशो रजनिशसँगै पनि मिला रेपाले कैयन प्रवचनहरुमा गीत संगीतको संयोजन गरेका थिए ।
१९ घण्टाको हवाई यात्रा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका स्वामी मिलारेपाले भने, ‘२१ औं शताब्दीका महान विचारक एवं दार्शनिक गुरु रजनिशसँग सिकेको प्रेम, अनुभव नेपाली ओशो सन्यासीहरुसँग साट्न आएको छु ।’
संगीतप्रेमीहरुका लागि यसपटकको ध्यान शिविर विशेष हुने आयोजक पक्षले जनाएको छ । संगीत टोलीले उच्चत्म ऊर्जाद्वारा ध्यानस्थ हुन सहयोग पुर्याउने छन् । अनुभवी संगीतज्ञहरु सम्मिलित टोलीले आफैंले सिर्जना गरेको नृत्य, अध्यात्मिक धुन गीत, रक, ज्याज र पप गीतहरु अध्यात्मिक रहस्यमय तवरबाट प्रस्तुत हुनेछन् ।
मिलारेपाको संगीत टोलीमा स्वामी भटियान (तरुण मिश्र) पनि छन् । उनी ओशो जगतमा कुशल ड्रमरका रुपमा परिचित छन् । बाँसुरी बजाउन र गीत गाउनमा कुशल स्वामी प्रबुद्ध पनि रहनेछन् ।
शिविरमा ओशो लीला सेन्टर इन डेभोन युकेको संयोजक रहनु भएकी मा तिश्राले किबोर्ड बताउने छिन् ।
विशेष प्रस्तुतीका रुपमा नेपाली सुफी गायक मनमोहन थपलियाको सांगीतिक कार्यक्रम छ । साजीसाधकसँग बिहान योगा सिक्ने अवसरसमेत शिविरमा प्राप्त हुनेछ । करिब १ सय जनाका लागि बस्ने र खाने प्रबन्ध मिलाइएको छ । जापान, अमेरिका, बेलायत, डेनमार्क, जर्मनी, भारत र नेपालका ७० भन्दा बढीले होटलमा बुकिङ गरिसकेका कार्यक्रम संयोजक राजेश विष्टले जानकारी दिए ।
ओशोका ध्यान शिविरहरु महंगो हुने गुनासोलाई ध्यानमा राखेर विद्यार्थी र आवश्यक रकम जुटाउन नसक्ने ओशो प्रेमीहरुलाई निःशुल्क, अर्धशुल्कमा पनि ध्यान गर्ने प्रबन्ध गरिएको छ । नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन पनि यसखाले कार्यक्रमको महत्व बढी हुन्छ । शिविरमा सहभागी हुन चाहनले ९८४१ १४९८६१ र ९८०२०९६४७७ मा सम्पर्क गर्न पनि सक्नेछन् ।