News

काठमाडौं बाहिरका ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

काठमाडौं बाहिरका ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

काठमाडौं : अन्तर्राष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको दुवै विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । भैरहवा र पोखरा विमानस्थलको वर्षदिन यताको प्रगतिले समयभित्रै सम्पन्न हुने आधार तयार गरेको नागरिक उड्डयन मन्त्रालयको अध्ययन अनुसन्धान शाखाका उपसचिव दुर्गा भुर्तेलले बताए । भैरहवा विमानस्थलमा तीन हजार मिटरको धावनमार्ग, अन्तर्राष्ट्रिय र प्रशासनिक भवन एवम् कन्ट्रोल टावर निर्माण कार्य अन्तिम चरणमा छ । चार वर्षअघि सुरु भएको विमानस्थलको स्तरोन्नति वर्षदिन यता तिब्रता पाएको छ । 

अधिग्रहणमा परेको १४० विघा जग्गाको मुआब्जा वितरण भइरहेको छ । २८८ विघाको मुआब्जा वितरण पक्रिया पनि सँगसँगै अगाडि बढाइएको छ । धावन मार्ग चार ‘लेयर’को बनाउने लक्ष्य राखिएको छ । “तीन ‘लेयर’को सम्पन्न भएको छ, चौथो ‘लेयर’ राख्ने कार्य आजैभोलि सुरु हुन्छ”– भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको आयोजना प्रमुख प्रवेश अधिकारीले निर्धारित समय यो असारभित्र सम्पन्न हुने दाबी गरे । 

भैरहवा विमानस्थलको प्रगति ६७ प्रतिशत रहेको छ । उपकरण जडान, विद्युतीकरण लगायतको ३० प्रतिशत कार्य ‘स्ट्रक्चर’मा निर्भर रहेकाले सम्पन्न भएलगत्तै प्रगति प्रतिशत बढ्ने आयोजना प्रमुख अधिकारीले तर्क गरे । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सजिञ्व गौतमले ‘इलेक्ट्रो मेकानिकल कम्पोनेन्ट’ र उपकरण जडानसँगै सञ्चालनको लागि आवश्यक ‘सर्टिफिकेसन’ प्रकियामा जाने जनाए । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नै निर्माण भइरहँदा ‘सर्टिफिकेसन’मा समस्या नहुने प्राधिकरणका महानिर्देशक गौतमको तर्क छ । 

मुआब्जा वितरणमा मात्रै २३ अर्ब रुपैयाँ खर्चिन लागेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणतर्फ छ अर्ब ८२ करोड खर्च हुँदैछ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कार्य नर्थ इस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चीनले लिएको छ । 

क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न लागिएको पोखरा विमानस्थलको निर्माण २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पोखरा विमानस्थलको निर्माण प्रगति सन्तोषजनक रहेको बताए । पचास रोपनी जग्गा अधिग्रहणको लागि मुआब्जा निर्धारणको कार्य भइरहेको छ । 

‘अर्थवर्क’को काम ७० प्रतिशत सकिएको छ । रनवे, टयाक्सी वेको निर्माण अन्तिम चरणमा रहेको पोखरा विमानस्थलमा ‘डोमेस्टिक, इन्टरनेसनल एप्रोन’को निर्माण ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ । 

पोखरा विमानस्थलको पूर्ण स्वरुपको उडान भर्ने लक्ष्य दुई वर्षपछि ९जनबरी २०२१० निर्धारण गरिएको छ । विमानस्थल निर्माण २०११ मै सुरु हुने भनिए पनि नेपाल र चीन सरकारबीच २०१७ को मार्च महिनामा ऋण सम्झौता भएको थियो । वर्षदिन यता विमानस्थलको निर्माणले तिब्रता पाएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

पोखरा विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विशेष