News

नयाँ वर्षदेखि बन्द भएका ‘ट्राफिक लाइट’ सञ्चालनमा ल्याइने

नयाँ वर्षदेखि बन्द भएका ‘ट्राफिक लाइट’ सञ्चालनमा ल्याइने

काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि बन्द रहेका सबै स्थानका ट्राफिक लाइट २०७६ वैशाखदेखि सञ्चालनमा ल्याइने भएका छन् । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले केही वर्षदेखि बन्द रहेका उपत्यकाका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । त्यसका लागि बोलपत्र आह्वान भई कम्पनी छनोट समेत भइसकेको जानकारी दिए ।  उपत्यकाभित्रका ट्राफिक लाइटको मर्मत सम्भारको काम सुरु भइसकेको जानकारी दिंदै भने, “वैशाखभित्र उपत्यकाका सबै स्थानका ट्राफिक लाइट सञ्चालनमा आउनेछन् ।” 


काठमाडौँ उपत्यकामा तत्काल नयाँ ट्राफिक लाइट थप्ने कुनै योजना नरहेको स्पष्ट पार्दै उनले यसअघि जडान गरिएका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइने बताए । अहिले काठमाडौँ जिल्लाको १५ स्थान र भक्तपुरको चार स्थानमा ट्राफिक लाइट बिग्रिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि झण्डै १२ वर्षपछि २०७४ चैत १३ गते राजधानीको आठ ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’ को उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो ।


पूर्ण रूपमा नेपाली प्रविधि र इञ्जिनियरको सहयोगमा सीसी क्यामेरासहित तयार पारिएको ट्राफिक लाइट अहिले काठमाडौंको नयाँ बानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड र नारायण गोपाल चोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ (मुख्य चोकमा जडान गरिने ट्राफिक लाइट) सञ्चालनमा रहेका छन् । नारायणगोपाल चोकमा पहिलो पटक नयाँ ट्राफिक लाइट जडान गरिएको थियो । त्यसैगरी, नयाँ सडक, सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालय अगाडि, पुतलीसडक कुमारी बैंक अगाडि, सोल्टिमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि सहज हुनेगरी ट्राफिक लाइट सञ्चालनमा रहेका छन् ।

 

उपत्यकाका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायतका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेकोे ट्राफिक महाशाखा स्रोतले जनाएको छ । 

 

नेपालमा पहिलो पटक विक्रम सम्बत् २०२४ सालमा सुन्धारा, नयाँ सडक गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तर ती लाइट विभिन्न कारणले लामो समयसम्म सञ्चालनमा आउन सकेन ।  त्यसपछि जापान सरकारको सहयोगमा २०५८ सालमा थापाथलीसहित राजधानीको केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । जुन २०६३ सालदेखि बन्द भएका थिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

 

काठमाडौं उपत्यका ट्राफिक लाइट

विशेष