कस्ता कामदार जापान जान पाउँछन् ?
काठमाडौं : नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । योसँगै नेपाल जापानसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर गर्ने दोस्रो मुलुक बनेको छ । जापानले ५ चैतमा पहिलो मुलुकका रूपमा फिलिपिन्ससँग एमओसीमा हस्ताक्षर गरेको थियो ।
१ अप्रिलदेखि कार्यान्वयनमा आउने समझदारीपत्रअनुसार निश्चित सीपयुक्त नेपाली कामदार कोरियाको इपिएस प्रणालीजस्तै सरकारी स्तरबाटै रोजगारीका लागि जापान जान पाउनेछन् । म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारमाथि चरम ठगी हुन थालेपछि सरकारले जापानसमक्ष सरकारी संयन्त्रबाटै पठाउने अडान राखेको थियो ।
समझदारीपत्र कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधिहरू रहने संयुक्त समितिको व्यवस्था गरिएको छ । सो समितिले निश्चित सीपयुक्त नेपाली कामदारको भर्ना, रोजगारी र स्वदेश फिर्तीलगायतमा अपनाउने विधि तथा प्रक्रियाको टुंगो लगाउनेछ । जापानले आउँदो पाँच वर्ष नेपालसहित विभिन्न ९ वटा मुलुकबाट १४ औद्योगिक क्षेत्रमा करिब ४ लाख विदेशी कामदार भित्र्याउने नीति तय गरेको छ । कुन क्षेत्रमा कति संख्यामा नेपाली कामदार लैजाने भन्ने विषय निश्चित हुन बाँकी छ ।
कस्ता कामदार जापान जान पाउँछन् ?
जापानले दुई किसिमको निश्चित सीपयुक्त कामदारलाई लैजाने नीति बनाएको छ । जसअनुसार पहिलो वर्गमा सीप तथा सम्बन्धित कार्यक्षेत्रको अनुभवप्राप्त श्रमिकहरू रहनेछन् । यस्ता श्रमिकहरूले बढीमा ५ वर्ष जापानमा काम गर्न सक्नेछन् । विशिष्ट तथा उच्च तहको सीपयुक्त कामदारलाई दोस्रो वर्गमा राखिएको छ । यसअनुसार डाक्टर, इन्जिनियरजस्ता उच्च सीपयुक्त श्रमिकहरू पाँच वर्षभन्दा बढी समय जापानमा काम गर्न पाउनेछन् । उनीहरूले आफ्ना परिवारका सदस्यसमेत लैजान सक्ने व्यवस्था गरिएको छ ।
सेवासुविधा जापानीसरह
समझदारीअनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिकसरहको सेवासुविधा एवं सर्तमा काम गर्न पाउनेछन् । उनीहरूलाई जापानी नागरिकसरह समान व्यवहारको सुनिश्चितता गरिनेछ । यसअनुसार नेपाली श्रमिकले जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्नेसरह वा सोभन्दा बढी पारिश्रमिक पाउनेछन् । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापनसम्बन्धी अभिमुखीकरण, भाषा सहायता, बसाइ, कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो र काम परिवर्तनसम्बन्धी परामर्श तथा सहयोग उपलब्ध गराइनेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।