News

'ओपन युनिभर्सिटी'का प्रमाणपत्र सेनालाई अमान्य

'ओपन युनिभर्सिटी'का प्रमाणपत्र सेनालाई अमान्य

काठमाडौं । नेपाली सेनाले सरकारलाई नै चुनौती दिँदै खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) बाट प्राप्त शैक्षिक योग्यताका प्रमाणपत्रलाई मान्यता नदिने भएको छ। सेनाले अनलाइन शैक्षिक प्रमाणपत्रलाई पनि मान्यता नदिने जनाएको छ। शिक्षामा पहुँच बढाउन सरकारले स्थापना गरेको खुला विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिएर नेपाली सेनाले सरकारलाई नै चुनौती दिएको पीडितहरूको गुनासो छ।

 

सेनाले अधिकृत तहमा नयाँ प्रवेशका लागि अनलाइन र ओपन युनिभर्सिटीबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिने निर्णय गरेकाले हाल अधिकृतस्तरमा कार्यरत सेनाका कर्मचारीले बढुवा, तालिम तथा वृत्तिविकासका लागि ती निकायबाट प्राप्त शैक्षिक प्रमाणपत्र पेस गरेमा अवसर पाउने छैनन्। नेपालमा सामान्यतया कुनै पनि निकायमा अधिकृत तहको सेवामा प्रवेशका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ।


सैनिक स्रोतका अनुसार ओपन युनिभर्सिटी र अनलाइनबाट प्राप्त शैक्षिक प्रमाणपत्रका आधारमा अधिकृत तहमा नयाँ प्रवेश दिइने छैन र कार्यरत कुनै पनि अधिकृतलाई वार कलेज÷नेसनल डिफेन्स कोर्स, स्टाफ कलेजलगायत अन्य तालिम तथा बढुवामा सामेल गराइने छैन। सेनाको यो निर्णय दुई वर्षअघि रक्षा मन्त्रालयले जारी गरेको कार्यविधिविपरीत पनि हो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

नेपाली सेना

विशेष