News

विप्लव समूह र प्रहरीबीचको गोली हानाहानमा 'अछाम इन्चार्ज' घाइते, थप २१ कार्यकर्ता पक्राउ

विप्लव समूह र प्रहरीबीचको गोली हानाहानमा 'अछाम इन्चार्ज' घाइते, थप २१ कार्यकर्ता पक्राउ

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा चन्द समूह र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी गएको थियो ।

 

‘प्रहरी टोलीले देखेपछि चन्दका कार्यकर्ताले फायर खोले । त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो । विस्तृत विवरण आउन बाही छ, प्रहरी प्रमुख जनक शाहीले भने, ‘केहीलाई पक्राउ पनि गरेको छौँ ।’  

 

चन्द समूहले भने प्रहरीले आफूलाई तर्साउन खोजेपछि बाध्य भएर फायरिङ गर्नुपरेको बताएको छ । ‘हामी आफ्नै तरिकाले बसेका बेला प्रहरीले हामीमाथि दमन गर्न खोज्यो । पहिले प्रहरीले नै फायरिङ खोलेको हो,’ ती नेताले भने, ‘भिडन्तमा हाम्र्रो अछाम इन्चार्ज सामान्य घाइते हुनुभएको छ ।'

 

प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

गोली हानाहान नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष