News मनोरञ्जन विदेश

भारतीय चुनावमा सेलिब्रेटी चस्का

भारतीय चुनावमा सेलिब्रेटी चस्का
  • राजु सुवेदी ‘कल्पित’

कपाल पाकेका मात्र होइन, चलेका क्रिकेटर र बलिउड सेलिब्रेटी राजनीतितर्फ आकर्षित हुन थालेका छन् । चुनाव जित्न चट्के कडीका रुपमा कलाकार उपयोग गर्न राजनीतिक दलहरुको रस्साकस्सी बढ्दो छ । सत्तारुढ दलमा शक्ति र सामथ्र्य फर्काउने लोभ होस् या प्रतिपक्षीको कुर्सी ताक्ने अस्त्र होस सेलिब्रेटीलाई हतियार बनाउने प्रतिस्पर्धा तेज गतिमा उर्लदो छ । कलाकारहरु चुनावमा जिते नीति निर्माण तहमा पुग्ने लोभ छ भने हारे लुरुलुरु आफ्नो काममा फर्कने गरेका छन् ।  पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको शक्तिशाली प्रधानमन्त्री बनेपछि खेलाडी तथा कलाकार आर्थिक सम्पन्नतासंगै साम, दाम, दण्ड, भेदको सामथ्र्यमा लोभिएका छन् ।

 

यसैगरी भारतीय क्रिकेटर नवजोतसिंह सिद्धु पञ्जाव प्रान्तीय सरकारमा मन्त्री छन् ।  भारतमा क्रिकेटर र कलाकार जन जन र मन मनमा लोकप्रिय छन् । बलिउड जगतका मूर्धन्य कलाकार अमिताभ बच्चन एकताक राजनीतिमा गए । सांसद भए । राजनीतिमा आफ्नो प्रतिष्ठा चकनाचुर हुने बुझेपछि फेरि कलाक्षेत्रमै फर्किए । ७५ वर्षको उमेरमा पनि उनी ड्यासिङ अभिनयसाथ जमेर बसेका छन् । 

 

यो पटक हुन लागेको चुनावमा पनि कलाकारलाई प्रतिस्पर्धी बनाउने होड राम्रैसंग चलेको छ । सन् २०१९ को लोकसभा चुनावमा कुन सेलिब्रेटी कहाँबाट चुनाव लड्दैछन, त्यसको स्पष्ट खाका नआइसकेको भएपनि सन् २०१४ मा भएको चुनावमा सेलिब्रेटीको सहभागिता व्यापक थियो । बलको छक्का र पर्दाको रंग कसलाई कति फाप्छ, त्यो त समयक्रममा देखिने विषय भयो । क्रिकेटर  सत्तारुढ भारतीय जनता पार्टी, काँग्रेस आईदेखि सडकबाट आएको आम आदमी पार्टीसमेत कलाकारलाई चुनाव उठाउने अग्रपंक्तिमा देखिएको छन् ।

 

अघिल्लो पुस्ताका सुनिल दत्त, शत्रुुघ्न सिन्हा, विनोद खन्ना, जया भादुरी, रेखा, हेमा मालिनी, जया प्रदा, परेश रावल, किरण खेरजस्ता अनुहार विधायक बनेर संसदमा उपस्थिति जनाइसकेका छन् । सन् २०१४ थुप्रै कलाकार चुनावी मैदानमा देखिएपनि चर्चित अनुहारलाई मतदाताले पत्याएनन् । संगीतका दिग्गज बप्पी लहरी बीजेपीको टिकटमा हुगली जिल्लाको श्रीरामपुर संसदीयबाट उठेपनि विजयमाला पहिरिने अवसर जुरेन ।

 

गहनैगहनाले भरिने उनको शरीरमा फूलमाला लेखिएन । पद्मश्री पुरस्कार प्राप्त भारतीय फुटबल टीमका पूर्व क्याप्टेन भाइचुङ भुटिया तृणमूल कांग्रेसको टिकटमा दार्जिलिङबाट चुनाव त लडे तर उनको व्यक्तित्वले मतदाता आकर्षित भएनन् । टेलिसिरियल बहुचर्चित पात्र स्मृति इरानीलाई दर्शकले टीभीमा रुचाए, भोटमा पत्याएनन् । अमेठी चुनावी क्षेत्रमा बीजेपीबाट टिकट लिएकी उनले त्यसबेला राहुल गान्धीलाई लक्षित गर्दै आफूले अढाई वर्षमा पाएको लोकप्रियता राहुलले एक दशकमा पनि नपाएको भन्दै आलोचना गरेकी थिइन ।

 

दक्षिण भारतकी चर्चित अभिनेत्री राम्याको हातमा पनि पराजय हात लाग्यो ।  अभिनेत्री मुनमुन सेनलाई भने मतदाताले पत्याए ।  उनी तृणमूल कांग्रेसको टिकटमा बाँकुडाबाट उठेकी थिइन । आरएलडी र काँग्रेस गठबन्धनकी प्रत्यासी जया प्रदालाई रामपुरका जनताले रातो कार्पेट बिछाए ।  मिस इण्डियाको ताज पहिरिसकेकी  अभिनेत्री गुल पनागलाई आम आदमी पार्टीले पत्यायो, मतदाताले भर गरेनन् ।

 

अघिल्लो चुनावमा बीजेपीको टिकटमा मथुराबाट विजयमाला पहिरेकी हेमा मालिनी फेरि त्यही ठाउँबाट चुनाव लड्दैछिन् ।  आम आदमी पार्टीले उठाएका जानेमाने अभिनेता जावेद जाफरीको पत्ता साफ भयो । उनका प्रतिस्पर्धी थिए– बीजेपीका मूर्धन्य नेता राजनाथ सिंह । कांग्रेसकी चर्चित उम्मेद्वार  रिता बहुगुणा जोशीलाई हराएर  कलाकार किरण खेर संसदमा छिर्न सफल भइन ।

 

बलिउडका सफल अभिनेता एवं निर्देशक महेश मांजरेकरतको पक्षमा कलानगरी मुम्बईका मतदाता नै आकर्षित भएनन् ।  कांग्रेसका गुरुदास यो क्षेत्रबाट चुनिए ।  समाजवादी पार्टीको टिकट लिएर मैदानमा आएका निर्माता कमाल आर खानको भाग्यमा पनि विधायक बन्ने भाग्य जुरेन । बरु भोजपुरी स्टार मनोज तिवारी बीजेपीलाई विहारी मतदाताले पत्याएर विधायक बनाए । त्यसअघि समाजवादी पार्टीबाट उनले राजनीतिको श्रीगणेश गरेका थिए ।  

 

भारतीय क्रिकेट टीमका पूर्व क्याप्टेन मोहम्मद अजहरुद्दीनलाई काँग्रेसले उठायो तर उनको स्थानीय उम्मेद्वार नभएको भन्दै मतदाताले भोट हाल्ने जाँगर लाएनन् । बीजेपीबाट  परेश रावल लोकप्रिय मत पाएर विजयी भए । उत्तर प्रदेशको फिरोजाबादबाट चुनाव लडेका अभिनेता राज बब्बर  चुनाव हारे । ओलम्पिक पदक विजेता राज्यवद्र्धन सिंह राठौरलाई जयपुरले पत्याएर जिताएर पठायो ।

 

भोजपुरी फिल्मका ‘अमिताभ बच्चन’ भनेर चिनिने रवि किशनलाई अर्का शेर शत्रुघ्न सिन्हाले सहजै बाजी मारे । उनी केन्द्रीय मन्त्री समेत भइसकेका कलाकार हुन् । बेस्ट फिल्डर र तेज रनर बनाउन ख्यातीप्राप्त पूर्व क्रिकेटर मोहम्मद कैफ चुनावी म्याचमा अब्बल उत्रिन असमर्थ भए । गायक बाबुल सुप्रियोको गायकीलाई बीजेपीसंगै मतदाताले पनि साथ दिए । उनी पश्चिम बंगालबाट चुनिन सफल भए । निर्दलीय उम्मेद्वारी दिएकी ड्रामा क्वीन राखी सावन्तको फिल्मीय मादकता चुनावमा काम लागेन । उनीहरुले संसदमा निभाएको भूमिका बारे बहस हुनु अर्को पाटो हो । यद्यपि कलाको रंगले राजनीतिमा पाएको सहभागिता भने स्तुत्य छ । 
 

राजनीति भारतीय चुनाव बलिउड सेलिब्रेटी

विशेष