इरानी नागरिक अध्यागमनको कालोसूचीमा, 'अन अराइभल भिसा'मा रोक
काठमाडौं । युरोप छिर्न नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेपछि नेपाल सरकारले इरानी नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ । गृह मन्त्रालयले इरानी नागरिकलाई अध्यागमनको कालोसूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो ।
अध्यागमन अपराधमा इरानी नागरिकको संलग्नता बढेपछि उनीहरूलाई अन अराइभल भिसा नदिने प्रस्ताव अघि बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव रायका लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
पछिल्ला केही महिनायता हरेक साता फर्जी पासपोर्टसहित इरानी नागरिक नेपालमा पक्राउ परिरहेका छन् । युरोपियन देशको नक्कली पासपोर्ट लिएर उनीहरू नेपाल आउने गरेको भेटिएपछि सरकार कडाइमा उत्रिएको हो ।
तीन महिनायता मात्र २० भन्दा बढी इरानी नागरिक नेपालमा पक्राउ परिसकेका छन् । सबैले ट्रान्जिटका रूपमा नेपाललाई दुरुपयोग गरेको खुलेको छ । घुम्न भनेर आउने वास्तविक इरानी नागरिकको संख्या नगण्य हुने भएकाले अन अराइभल भिसामा कडाइ गर्न लागिएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
गृहमन्त्रालय