News मुख्य समाचार समाज देश

नाफा कुम्ल्याउने तर कर नतिर्ने तपोवनको खेल

नाफा कुम्ल्याउने तर कर नतिर्ने तपोवनको खेल

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँगैको ओशो तपोवनले कर छुटका लागि कर कार्यालयका प्रमुखलाई दबाब दिन थालेको छ ।

 

जानकार स्रोतका अनुसार आन्तरिक राजश्व कार्याल बालाजुका प्रमुख इन्द्रबहादुर देवकोटालाई तपोवनका पदाधिकारीहरू निरन्तर कर छुटका लागि दबाब दिँदै आएका छन् । तपोवन एक रिसोर्टका रूपमा सञ्चालन भएको सबैलाई थाहा हुँदाहुँदै पनि त्यो विषयलाई छलेर एक अध्यात्मिक, नाफा नगर्ने ध्यान केन्द्र हो भन्दै कर छुटका लागि दबाब दिँदै आएका हुन् ।

 

केही दिनदेखि तपोवनका सचिव सुदीप पौडेल र उनको समूहको काम नै कर कार्यालय धाउने, शक्ति केन्द्रहरूबाट फोन गराउने आदि काम गर्दै आएका छन् । पछिल्लो समय तपोवन रिसोर्टका रूपमा सञ्चालन भएको, नाफा राम्रो कमाएको, सरकारी स्रोतसमेत दूरुपयोग गराएर निकुञ्जमा भौतिक संरचना निर्माण गरेको जस्ता विवादमा तपोवन मुछिएको छ ।

 

निकुञ्जको जमिनसमेत वर्षौंदेखि कब्जा गरेका कारण सामाजिक रूपमा आलोचित भइसकेको छ । ध्यान गर्न आउनेहरूसँग मोटो रकम असुल्ने, तपोवनभित्रका कटेज र कोठाहरू भाडामा लगाउने, लाखौं रुपैयाँमा लिजमा दिने आदि काम गर्दै आएको तपोवनले आफ्नो लेखा भने अद्यावधिक नराखेको स्रोतको दावी छ ।

 

कर कार्यालयले एउटा रिसोर्टका रूपमा सञ्चालन हुँदै आएको तपोवनलाई धार्मिक संस्था मानेर कर छुट दिन नसक्ने ठहर गरिसकेको छ । तर, आन्तरिक राजश्व कार्यालयका प्रमुख इन्द्रबहादुर देवकोटालाई चौतर्फी दबाब दिन थालेपछि उनी पनि तनावमा छन् ।

 

स्रोत भन्छ, ‘नसोचेका ठाउँबाट समेत तपोवनवालाहरूले फोन गराएका छन् । यो हदसम्म पुगेर उनीहरूले दबाब सिर्जना गर्छन् भन्ने अपेक्षा थिएन । यो विषयमा आजकल देवकोटा सर त्यति बोल्न पनि चाहनुहुन्न ।’

 

नेपालआजसँगको कुराकानीका क्रममा प्रमुख देवकोटाले कर छुटका लागि आग्रह गरेको पुष्टि गरे। उनले भने, ‘पहिले जसरी नै कर छुट दिनु पर्‍यो भन्ने उहाँहरूको कुरा छ । तर, कर छुट दिन मिल्ने नमिल्ने हामी अध्ययन गरिरहेका छौं । अध्ययनकै क्रममा भएका कारण म यसबारे थप बोल्न सक्दिनँ ।’

 

कर कार्यालयले तपोवनको आर्थिक चलखेल थाहा पाइसकेको छ । रिसोर्टले झै शुल्क लिने, नाफा सिर्जना गर्ने, कोठा भाडामा दिने तर कर चाहिँ नतिर्ने गरेको बुझेको छ । त्योभन्दा डरलाग्दो विषय त तपोवनले धेरैजसोलाई बिल नै दिँदैन । जसका कारण कर कार्यालयलाई कर निर्धारण गर्न गाह्रो भएको छ ।

 

धेरैजसो आर्थिक कारोबार भ्याट बिलमा नगर्ने, मौखिक रूपमा गर्ने, कागजी नै गर्नु पर्दा पनि लुज बिल प्रयोग गर्ने गरेको कर कार्यालयलाई थाहा छ । तपोवलाई करको दायरामा ल्याउन कर कार्यालय कडाई गर्ने तयारीमा छ । तर, तपोवनले शक्ति केन्द्र प्रयोग गर्न थालेपछि कर अधिकृतहरू अलमलमा छन् ।

 

ओशो तपोवनका संस्थापक संरक्षक विवादास्पद स्वामी आनन्द अरूण हुन् ।

ओशो तपोवन स्वामी आनन्द अरूण कर कार्यालय

विशेष