News

सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा पनि रद्द

सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा पनि रद्द

काठमाडौं : प्रदेश २ बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तरगतको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।

 

बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको हो।

 

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टिपछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए। उनले भने, 'सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरू भाइरल भएको थियो। त्यो पुष्टि पनि भयो। हामीले आजको परीक्षा रद्द गरेका छौं। तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ।'

बिहीबार प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो। सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ। बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका छन्। चैत २२ गतेलाई परीक्षा तालिका तोकिएको छ।

एसइई परीक्षा प्रश्नपत्र आउट सामाजिक

विशेष