ब्रेकिङ न्युज : प्रदेश २ मा अनिवार्य सामाजिक विषयको प्रश्नपत्र पनि आउट (प्रश्नपत्रसहित)

- प्रदीप सिंह
राजविराज । जारी माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ । बिहीबार विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा हुनु अगावै बाहिरिएको थियो ।
प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ सरकारले विज्ञान विषयको परीक्षा रद्द गरेको थियो । त्यसको भोलिपल्ट फेरि सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको हो । शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा सुरु भएपछि मात्र पुष्टि हुनेछ ।
बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको विषयमा राष्ट्रिय परीक्षा बोर्ड बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्रमा अध्ययन अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ।