News सामाजिक सञ्जाल

लगानी सम्मेलनमा उद्योगमन्त्री यादवले सीट नपाएपछि...

लगानी सम्मेलनमा उद्योगमन्त्री यादवले सीट नपाएपछि...

काठमाडौं। राजधानीमा शुक्रबारदेखि तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन शुरु भएको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबीच पारसपरिक संवन्ध स्थापित गर्दै लगानीको उचित वातावरण सृजना गर्ने उद्देश्यले आयोजित सम्मेलनमा ४० राष्ट्रका करिब ६०० प्रतिनिधिहरु सहभागि छन् । 


स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योग व्यवसायी, परिवेक्षक तथा विभिन्न दातृ राष्ट्र र तिनका प्रतिनिधिहरुले खचाखच भरिएको सम्मेलन हलमा बस्ने सीटको अभाव देखिएको छ । यसै सन्दर्भमा ढिलागरी सम्मेलन हलमा पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बस्ने सीट नै पाएनन् । 
लगानी सम्मेलनको पत्रकार सम्मेलनमा समेत अनुपस्थित रहेका यादवले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट वाहिर निस्किएका थिए।

 

उनी झोक्किएर वाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत वाहिरै मन्त्रीसँगै बसेका थिए। 

 

तर मन्त्री यादवले आयोजक भएका कारण सबैतिर हेर्नका लागि वाहिर आएको जिकिर गरे । ’म आयोजक हुँ। सबैतिर हेर्नुपर्छ भनेर वाहिर आएर बसेको हुँ।’ उनले भने।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा.युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्। यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन। अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेको छ।

उद्योगमन्त्री

विशेष