थेरेसा मेको ब्रेक्जिट योजना तेस्रो पटक अस्वीकृत

थेरेसा मेको ब्रेक्जिट योजना तेस्रो पटक अस्वीकृत

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट योजना तेस्रो पटक अस्वीकृत भएको छ । शुक्रबार बेलायती सांसदमा भएको मतदानमा मेको ब्रेक्जिट योजनाको पक्षमा २८६ मत पर्‍यो भने विपक्षमा ३४४ मत खसेको छ ।

 

योसँगै ब्रेक्जिट प्रक्रियालाई २२ मेसम्म लम्ब्याउने प्रधानमन्त्री मेको योजनामा धक्का पुगेको छ । ब्रेक्जिटबारे पुरानै सम्झौता संसदबाट पारित गराउने सरकारको प्रयासस्वरुप ब्रिटिस समयअनुसार शुक्रबार दिउँसो मतदान भएको थियो । यसअघि यो योजना पारित गरिदिए आफूले राजीनामा दिने मेले बताएकी थिइन् । 

 

उनको योजनालाई अस्वीकार गरेका केही संसद्ले यसपटक उनलाई समर्थन गरेका थिए । तर, लेबर पार्टीले यस पटक पनि मेको यो योजनालाई समर्थन गरेन । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मेले बेलायतलाई ‘आधा पाकेको’ ब्रेक्जिट दिन लागेको आरोप लगाएका छन् ।

 

अब बेलायती प्रधानमन्त्री मेले ब्रेक्जिट प्रक्रिया केही समय लम्ब्याउन युरोपेली युनियनसँग अनुरोध गर्न सक्ने सम्भावना बढेको छ । यसका लागि उनले १२ अप्रिल अगाडि नै युरोपेली नेताहरुसँग कुरा गरिसक्नु पर्ने हुन्छ । यसअघि आठ अन्य विकल्प पनि अस्वीकृत भएकाले अब कुनै सम्झौताविना युरोपेली युनियनबाट बेलायत बाहिरिन सक्ने सम्भावना पनि बढेको छ । 

 

उक्त नजिजाप्रश्चात् मेले यो मतदानले धेरै नै खतरनाक समस्या निम्त्याउने बताइन् । मतदानअघि ब्रिटिस सांसदरूबीच तिक्ततापूर्ण वादविवादहरू भएका थिए । विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र तत्काल निर्वाचन गराउन पर्ने माग पनि गरेका छन् ।

 

ब्रिटिश संसदमा तेस्रो पटक ब्रेक्जिट प्रस्ताव अस्वीकृत भएपछि यूरोपेली परिषद्‍का अध्यक्ष डोनल्ड टुस्कले ट्विट गर्दै भनेका छन्, 'ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि सम्झौता विना बाहिरिने प्रस्ताव खारिज भएको कुरालाई ध्यानमा राख्दै मैले १० अप्रिलमा युरोपेली परिषद्को बैठक बोलाउने फैसला गरेको छु।'
 

बेलायत थेरेसा मे ब्रेजिक्ट

संम्बधित खबर

विशेष