News

बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल, एक महिनामै ४६ बेड कटौती

बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल, एक महिनामै ४६ बेड कटौती

काठमाडौं । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो ।  

 

यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए। यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन। जम्मा ३७ बेड मात्र सञ्चालित थियो ।

 

अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए।  ‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ। बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ। यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं। तर सहयोग मिलेको छैन। यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कान्ति बाल अस्पताल

विशेष