News

प्रदेश २ मा स्थगित एसइई परीक्षाको प्रश्नपत्र छाप्ने प्रक्रिया शुरु

प्रदेश २ मा स्थगित एसइई परीक्षाको प्रश्नपत्र छाप्ने प्रक्रिया शुरु

काठमाडौं । प्रदेश २ मा स्थगित एसइई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ ।

 

आइतबार बस्ने एसइई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसइई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ ।

 

‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने । उनले प्रदेश-२ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए । पनिकाले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्ने हुन्छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ गतेसम्मको परीक्षाको अवस्था हेरेपछि मात्रै थप प्रश्नपत्र छपाइ गर्ने तयारी गरिरहेको छ ।

 

आइतबार बस्ने बोर्ड बैठकले प्रदेश २ को परीक्षाको तालिका र प्रश्नपत्र छपाइ गर्ने विषयमा निर्णय गर्नेछ । प्रश्नपत्र छपाइ गर्न जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयलाई तयारी अवस्थामा रहन मन्त्रालयले प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

 

जनकका महाप्रबन्धक महेश्वर तिमल्सिनाले प्रश्नपत्र छपाई गर्न आदेश दिनासाथ आफूहरु तयारी अवस्थामा रहेको बताए । प्रश्नपत्र छपाइ गर्न सुरक्षाकर्मीसमेत तयारी अवस्थामा रहेका छन् । जनक शिक्षामा हाल कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ भइरहेको छ । ११ र १२ को प्रश्नपत्र छपाइलगत्तै तराईमा स्थगित परीक्षाको प्रश्नपत्र छपाइ शुरु हुने भएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

 

एसइई परीक्षा

विशेष