News

पोखरा विश्वविद्यालयको सूचनाका कारण ३९१ विद्यार्थीको भविष्य अन्योलमा, २० हजारको परीक्षा स्थगित

पोखरा विश्वविद्यालयको सूचनाका कारण ३९१ विद्यार्थीको भविष्य अन्योलमा, २० हजारको परीक्षा स्थगित

काठमाडौं । पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

 

कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज (जिपिए) २.० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन् । विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो । सी ग्रेड भनेको २.० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ । यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए । 

 

तर, विश्वविद्यालयले परीक्षाको मुखमा आएर प्रत्येक विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने अर्थ लगाएपछि समस्या निम्तिएको छ । विश्वविद्यालयले प्रत्येक विषयमा सी ल्याएको हुनुपर्ने भन्दै माघमा अर्को सूचना निकालेको थियो । त्यसपछि विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको विवादले शुक्रबारदेखि हुने भनिएको परीक्षा नै स्थगित भएको छ । योसँगै पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ क्याम्पसका बिबिए, बिबिएबिआई, बिसिए, बिसिआइएस, बिएचएम अध्ययन गरेका विद्यार्थी अलपत्र परेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

पोखरा विश्वविद्यालय

विशेष