News

एसइई प्रश्नपत्र आउट प्रकरण : सिआइबीले सुरु गर्‍यो अनुसन्धान

एसइई प्रश्नपत्र आउट प्रकरण : सिआइबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं : प्रदेश २ मा परीक्षाअगावै एसइईको प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ । डिएसपी नेतृत्वको चार सदस्यीय टोलीले शनिबारदेखि सप्तरीबाट अनुसन्धान थालेको हो ।

 

बुधबार भएको विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सिआइबीको टोली जिल्लामा केन्द्रित भएको छ । प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएकाले प्राविधिक रूपमा आइटी विशेषज्ञको सहयोगमा टोलीले काम गरिरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए । एउटै प्रदेशमा लगातार प्रश्नपत्र आउट भएपछि त्यसअघिका विषयको पनि प्रश्नपत्र आउट भएको हुन सक्ने आशंका छ । तथ्य पत्ता लगाउन सिआइबीबाहेक परीक्षा नियन्त्रण कार्यालय र प्रदेश सरकारको छुट्टाछुट्टै छानबिन समितिले काम सुरु गरेको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयले बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय र प्रदेश सरकारले प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । शिक्षा मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गरेको छ । १४ चैतअघि लिइएका अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएको छैन । प्रदेश २ मा २ सय ६२ परीक्षा केन्द्रमार्फत ७० हजार ५ सय ६८ विद्यार्थी सहभागी भएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सिआइबी प्रश्नपत्र आउट

विशेष