News

पेट्रोलियम पदार्थको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

पेट्रोलियम पदार्थको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

काठमाडौं । नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच यो विषयमा सम्झौता भएको हो।

 

दुई देशका अधिकारीबीच बेइजिङमा बिहीबार यस विषयमा सम्झौता भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। यस विषयमा दुई देशबीच तीन वर्षअघि प्रारम्भिक चरणको सहमति भए पनि त्यसले मूर्त रूप लिन भने सकेको थिएन। केपी ओली पहिलो पटक प्रधानमन्त्रीको हैसियतमा भएको चीन भ्रमणमा सम्भाव्यता अध्ययनको सहमति भएको थियो। सहमतिअनुरूप चिनियाँ वाणिज्य मन्त्रालयको एक टोलीले नेपालको दैलेख श्रीस्थानमा पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययन गरेको थियो।

 

अध्ययनका लागि तत्कालीन सरकारले नेपालको तराई र शिवालिक क्षेत्रलाई १० भागमा विभाजन गरेको थियो। नेपाल भ्रमणमा आएको चिनियाँ वाणिज्य मन्त्रालयको टोलीले नेपालगन्ज, चितवन, मुस्ताङ, मोरङ, चतरा, चुरे क्षेत्र र पाल्पामा पनि अध्ययन गरेको थियो।

पेट्रोलियम पदार्थ

विशेष