प्राविधिक कर्मचारीको समायोजन सुरु
काठमाडौं । सरकारले प्राविधिक कर्मचारीहरूको समायोजन प्रक्रिया अघि बढाएको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ हजार १ सय प्राविधिक कर्मचारीको समायोजनको काम सम्पन्न गरेको छ। समायोजन महाशाखाका प्रमुख तथा मन्त्रालयका सहसचिव केदार पनेरूका अनुसार आइतबारदेखि करिब ५ हजार प्राविधिक कर्मचारीहरूको समायोजन प्रक्रिया अघि बढाइएको जानकारी गराए। उनले भने, ‘५ हजार प्राविधिक कर्मचारीमध्ये करिब २ हजार १ सय कर्मचारीको समायोजनको काम आइतबार पूरा भएको छ।’ आइतबार समायोजन भएका प्राविधिक कर्मचारीहरूमध्ये कृषि र पशु सेवाका इञ्जिनियर रहेका छन्। यसैगरी, केही संख्यामा अमिन रहेको मन्त्रालयको भनाइ छ।
महाशाखाका प्रमुख पनेरूले प्राविधिक कर्मचारीहरूको दरबन्दी थोरै भएकाले यस्ता कर्मचारीको समयोजनको काम अन्य सेवाको भन्दा ढिलो भएको बताए। उनले भने, ‘अन्य सेवाका कर्मचारी एउटै पदमा ठूलो संख्यामा हुन्छन् तर प्राविधिक कर्मचारीको संस्ख्या थोरै भएकोले प्राविधिकहरूको समयोजनको काम अलि ढिलो भएको हो।’ सरकारले यसअघि प्राविधिक कर्मचारी बाहेक करिब ३९ हजार कर्मचारीहरूले समायोजनको काम पूरा गरेको छ। हालसम्म समायोजन भएका कर्मचारीहरूमध्ये अधिकांश कर्मचारी संघमा समायोजन भएका छन्। ३९ हजार कर्मचारी मध्ये १० हजार कर्मचारी मात्र प्रदेश र स्थानीय तहमा समायोजन भएका छन्। समायोजन महाशाखाका अनुसार आइतबार समायोजन भएका २ हजार १ सय कर्मचारीमध्ये अधिकांश प्राविधिक कर्मचारी संघमा समायोजन भएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
प्राविधिक कर्मचारी समायोजन