News

सरकार र महानगरको संयुक्त लगानीमा विपन्न र सुकुम्बासीलाई घर

सरकार र महानगरको संयुक्त लगानीमा विपन्न र सुकुम्बासीलाई घर

मोरङ । नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा वडा नं ५ मा १०० वटा आदर्श आवास गृह बन्ने भएका छन । 

 

स्थानीय शङ्करबारी चोक केशलीया नजिक रहेको झण्डै दुई बिघा जग्गामा सुकुम्बासी र विपन्न परिवारका लागि बन्ने सो आवासका लागि नेपाल सरकारले रु दुई करोड, महानगरपालिकाको रु एक करोड, ह्यावीटेट नेपाल नामक संस्थाले रु एक करोड ५० लाख सहयोग गर्नुका साथै उद्योग सङ्गठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउने भएको छ । 

 

महानगरपालिकाद्वारा सोमबार आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकका तीनै तहका सरकार देश निर्माणसहित समृद्धिको बाटोमा रहेको बताए । उनले सुकुम्बासी र विपन्न परिवारका मानिसहरुको जीवनस्तर उकास्न सरकारले यो योजना ल्याएको भन्दै जनप्रतिनिधिहरुले देश र समाजका लागि केही गरौँ भावनाबाट प्रेरित हुनुपर्ने उल्लेख गरे । 

 

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरकारले जनअपेक्षाअनुसार विकासको काम गरिहेकाले सुकुम्बासीलाई जग्गा धनी पूर्जा बाँड्नुभन्दा निश्चित समुदाय र वर्गका मानिसको आवास बनाउनेतर्फ लाग्नुपर्ने सुझाव दिए । महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुकुम्बासी र विपन्न परिवारका मानिसका लागि गरिएको सो परोपकारको कार्य आफ्नै कार्यकालमा सम्पन्न गरिने दाबी गरे । 

 

प्रदेशसभा सदस्य केदार कार्की, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ऋषिकेश पोखरेल, मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, वडा नं ५ का वडाध्यक्ष मीन आचार्य, कांग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने, नेकपाका नगर अध्यक्ष सागर थापालगायतले सरकारले सुकुम्बासी र विपन्न परिवारका लागि थालनी गरेको सोे काम निकै प्रशंसनीय रहेको बताए । 

लालबाबु पण्डित आदर्श आवास गृह सुकुम्बासी

विशेष