पूर्वराजाको भ्रमण सफल बनाउन शिव सेनाको टोली तराई प्रस्थान गर्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारदेखि हुने जिल्ला भ्रमणको तयारी गर्न राजसंस्था पक्षधर शिव सेना नेपालको केन्द्रीय टोली तराईतर्फ प्रस्थान गर्ने भएको छ ।
अध्यक्ष अनिल बस्नेत ‘बाबा’ नेतृत्वको टोली बुधबार बिहानै जनकपुरतर्फ प्रस्थान गर्ने भएको हो । पूर्वराजा शाह झापाबाट जनकपुर जाने कार्यक्रम तय भएपछि शिव सेनाले पनि यस्तो तयारी गरेको हो । अध्यक्ष बस्नेतका अनुसार धनुषा, सर्लाही, महोत्तरीलगायत जिल्लाको स्थानीय सुरक्षा संयोजन गर्न पार्टीले आफ्नो मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।
पूर्वराजा अहिले झापामा छन् । झापाका बसाईपछि उदयपुरसहित मध्य तराईका जिल्ला भ्रमणको तालिका हालै सार्वजनिक भएको हो । ती जिल्लाको भ्रमणका क्रममा पूर्वराजाको बसोबास जनकपुरस्थित सीता सदनमा हुने बुझिएको छ ।
शिव सेनाको केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय सार्वजनिक हुन केही दिन लाग्ने
यसैबीच राजसंस्था र हिन्दुराष्ट्र पक्षधर शिव सेना नेपालको दुई दिने केन्द्रीय समितिको बैठक शनिबार र आइतबारसम्म सञ्चालन भएर सम्पन्न भएको छ । केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यसम्पादन समितिले अनुमोदन गरेलगत्तै सार्वजनिक गरिने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । यसपटकको केन्द्रीय समितिले पार्टीलाईं सशक्त आन्दोलनमा जान पार्टी नेतृत्वलाई अनुमति दिएको छ ।
केन्द्रीय समिति बैठक बस्नुअघि शिव सेनाले बुद्धिजीवीहरुसँग अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो । अन्तरक्रियामा प्रा.डा. सुरेन्द्र केसी, डा. निरञ्जन ओझा, डा. किशोर भट्टराई, वरिष्ठ पत्रकार युवराज घिमिरे, पूर्वसचिव धरणीधर खतिवडालगायतको सहभागीता थियो ।
शिवरात्रि हर्षोल्लासपूर्वक
यसपटकको महाशिवरात्रि हिन्दुवादी संगठन शिव सेना नेपालले हर्षोल्लासपूर्वक मनाएको छ । पशुपति क्षेत्रमा बाजागाजासहित भगवान पशुपतिनाथको पूराआराधना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।