News

पाथीभरामा जहिल्यै खराब मौसममा उडान

पाथीभरामा जहिल्यै खराब मौसममा उडान

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीकाटिप्पणी भइरहेको छ ।
 


राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा दर्शनका लागि आएकी थिइन् । बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकप्टर अवतरण हुन नसकेपछि उनी एक घण्टा सदरमुकाम फुङलिङमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट गरिएको दोस्रो प्रयासमा मात्रै उनी मन्दिर पुग्न सफल भइन् । तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पाथीभरा दर्शन गर्न एक दिन कुर्नुपरेको थियो । काठमाडौंबाट हेलिकप्टरमा आएका उनी मौसम बिग्रिएपछि सदरमुकाम फुङलिङमै बसे । भोलिपल्ट पनि राम्ररी खुलेको थिएन । अघिल्लो दिनभन्दा केही सुधार भएपछि हेलिकप्टरमै मन्दिर परिसरमा ओर्लिएर पाथीभरा दर्शन गरी फर्किए ।

 

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हेलिकप्टर अवतरण हुनै सकेन । सशस्त्र द्वन्द्वमा माओवादीले ध्वस्त बनाएको जिल्ला वन र जनस्वास्थ्य कार्यालयको भवन पुनर्निर्माणपछि उद्घाटनका लागि आएका उनको मुख्य उद्देश्य पाथीभरा दर्शन थियो । दर्शनपछि फर्किएर दुई कार्यालयको भवन उदघाटन गर्ने कार्यसूची थियो । निकैबेर आकाशमा घुमाउँदा पनि मन्दिर परिसरमा हेलिकप्टर अवतरण गर्न नसकेपछि उनले ढिलो गरी सदरमुकाम फर्किएर भवन उद्घाटन गरेका थिए । त्यसलगत्तै काठमाडौं फर्किए । पछि फेरि आएर दर्शन गरेको पुजारीहरू बताउँछन् । 

 

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भ्रमण पनि अनुकूल मौसममा भएको थिएन । स्वागतका लागि मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष सजन पौडेलका अनुसार हेलिकप्टर अवतरण गरेको एक मिनेटमै कुहिरोले ढाकिएको थियो । उड्ने बेलाको मौसम पनि राम्रो थिएन । बाक्लो कुहिरैबीच हेलिकप्टर उडेको उनले जानकारी दिए । ‘पाइलट सेनाका कर्णेल थिए, उनले हेलिकप्टर सिधै उचाइमा लगेर घुमाए’ पौडेलले थपे, ‘अहिले सम्झँदा त्यो मौसम पनि राम्रो होइन रहेछ ।’

 

तत्कालीन राजा ज्ञानेन्द्र र छोरा पारस चढेको हेलिकप्टर मन्दिर परिसरमा बस्न नसकेपछि काफ्लेपाटीमा अवतरण गराइएको थियो, जुन मन्दिरभन्दा साढे चार किलोमिटर तल हो । ‘दरबारकै आयोजनामा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लगाइएको थियो’ पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका तत्कालीन उपाध्यक्ष रणबहादुर कार्कीले भने, ‘उदघाटन र समापनमा राजा आउने भनेर अनेक पटक प्रयास गरिएको थियो ।’

 

प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित पाथीभरामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि दर्शनका लागि गएका थिए । ऐश्वर्यले सुनको सिक्री चढाएकी थिइन् । रानीले चढाएको भनेर पछिसम्म त्यो सिक्री राखिएको समिति अध्यक्ष प्रजापति काफ्ले बताउँछन् । पुजारी डिल्ली आचार्यका अनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, झलनाथ खनाल र बाबुराम भट्टराई भने पदमा रहँदा पाथीभरा दर्शनका लागि आएका थिएनन् । पूर्वराष्ट्रपति रामवरण यादव पनि पाथीभरा आएनन् । प्रजातन्त्रपछिका बाँकी सबै सरकार प्रमुख दर्शनका लागि आएको उनले बताए ।

 

मीनेन्द्र रिजाललगायत केही नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा हिँडेरै मन्दिर पुगेका थिए । प्रधानमन्त्री केपी ओली तथा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र निर्वाचन गराउन बनेको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले हेलिकप्टरमै गएर पाथीभरा दर्शन गरेका थिए । प्रधानन्यायाधीशहरू, निर्वाचन आयोगका आयुक्त पनि दर्शनका लागि आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

पाथीभरा प्रतिकूल मौसम

विशेष