News देश

बजार दलालको कब्जामा, मूल्य नपाएर बारीमै सड्यो किसानको काउली र बन्दा

बजार दलालको कब्जामा, मूल्य नपाएर बारीमै सड्यो किसानको काउली र बन्दा

टीकापुर । लम्कीचुहा नगरपालिका–२, गणेशपुरका किसान लौटन चौधरीको काउली खेतीमा मात्रै तीन लाख रुपैयाँ लगानी डुबेको छ। उनले एक बिघा क्षेत्रफलमा काउली खेती गरेका छन्।

 

बजारमा काउली बिक्री हुन नसकेपछि किसान चौधरी निकै तनावमा छन। उनको बारीमा काउली सड्न थालेको छ। कतिपय बोट हलक्क बढेर तोरी फूले झैं फूलेका छन। उनले गत वर्ष १० कट्ठामा मात्रै काउली खेती गरेका थिए। यस वर्ष बजार पाउने आसमा १० कट्ठा थपेर एक बिघा क्षेत्रफलमा काउली खेती गरे। धेरै आम्दानी गर्ने आसमा उनको उल्टै लगानीसमेत डुबेको छ।

 

उनले आफ्नो उत्पादन बजारमा पुर्‍याउने प्रयास गरेका थिए। उनले लम्की, बौनियाँ, मुडा, चिसापानीलगायत साना बजारमा रहेका खुद्रा व्यापारीलाई आफ्नो काउली खरिद गरिदिन आग्रह गरेका थिए। तर, तरकारी बजार पूर्ण रुपमा दलालको नियन्त्रणमा रहेकाले उनको प्रयास सफल हुन सकेन। उनले दलाललाई छलेर आफ्नो उत्पादन खुद्रा व्यापारी कहाँ पुर्‍याउन सकेनन्। ‘बजारमा दलालको दबदबा छ,’ उनले भने, ‘हामीसँग व्यापारीले सोझै किन्न डराउँछन।’

 

दलालले नेपाली बजारमा भारतीय तरकारी मात्रै बेच्ने गरेका छन। भारतीय तरकारी नेपालीको तुलनामा सस्तो छ। जसबाट दलालले राम्रो आम्दानी गर्न सक्छन्। उनीहरुले आम्दानीको लोभमा भारतीय तरकारीलाई प्राथमिकता दिने गरेका छन्, जसका कारण नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमै सड्ने बाध्यता हरेक वर्ष दोहोरिने गरेको छ।

 

खुद्रा व्यापारी दलालको नियन्त्रणमा रहनुका धेरै कारण छन। त्यसमध्ये आवश्यकता अनुसार उधारो, हरेक किसिमका तरकारीको उपलब्धता, गाह्रो अप्ठेरो पर्दा सरसहयोग लगायत छन्। यसले गर्दा खुद्रा व्यापारी दलालको नियन्त्रणबाहिर जान नसकेको किसान चौधरीको बुझाइ छ। ‘दलालले व्यापारीलाई आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्ने रहेछन्,’ उनले भने, ‘हामी त्यो सहयोग गर्न सक्दैनौं। अनि व्यापारीले हाम्रो तरकारी बेच्दैन।’

 

काउली खेतीमा गरेको लगानी समेत डुबेपछि किसान चौधरी यतिबेला तरकारी खेतीलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेका छन। उनले तरकारी खेती गर्न थालेको धेरै वर्ष भयो। उनी विभिन्न जातका तरकारी उत्पादन गर्दै आएका छन। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

कृषि

विशेष