दोहोरो नागरिकता लिने बाबुछोरा कारागार
पर्वत । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो ।
दलबहादुरका छोरा मीनबहादुरले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता लिएपछि पुनः जिल्ला प्रशासन कार्यालय पर्वतबाट झुट्टा विवरण लेखाई सुजन थापा नाम राखेर दोस्रो नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्वतबाट २०६३ जेठ ३ मा जारी भएको सुजन थापा नामको नागरिकताको प्रमाणपत्रसहित निज मीनबहादुर कुमाललाई २०७४ माघ १३ मा पर्वत प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो ।
उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा निज कुमालले आफूले झुट्टा विवरण पेश गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य आरोपी मीनबहादुर कुमाललाई एक वर्ष दुई महीना कैद सजायसँगै रु २० हजार जरिवाना सजाय सुनाएको छ भने उनका बाबु दलबहादुरलाई एक वर्ष कैद सजायसँगै रु २० हजार जरिवाना र नागरिकता प्रमाणपत्र बनाउनका लागि सिफारिश गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई रु १५ हजार जरिवानाको फैसला सुनाएको छ ।
पर्वत दोहोरो नागरिकता