News

हिमपातले मुस्ताङमा विकास निर्माणका काम प्रभावित

हिमपातले मुस्ताङमा विकास निर्माणका काम प्रभावित

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ । 

 

तयारी अवस्थामा रहेको चार मोटरेवल पुलको ढलान गर्ने काम हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । आयोजनाको काम एक महीनापछि धकेलिएको उनको भनाइ छ । जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदुर फर्किएको बताए । 

 

विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँच स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् । बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा गएको पुस यता यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजर परिचालन गरेर हिउँ पन्छाएपछि कागबेनी–मुक्तिनाथ सडक खुलाइएको छ । 

 


चौरीगाई, भेँडा र च्याङ्ग्रालाई चरनको अभावले मर्न थालेका छन् । जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकी रेञ्जुर धनु गुरुङले बताए । 

हिमपात मुस्ताङ

विशेष