News

गाउँपालिका अध्यक्षकै २ नागरिकता!

गाउँपालिका अध्यक्षकै २ नागरिकता!

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ । उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो । ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गरेको रोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 


गाउँपालिकाका अध्यक्ष खत्रीसँग दुईवटा नागरिकता रहेको भन्दै स्थानीय हरिबहादुर पुनले २०७४ माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएकोे थियो। त्यसपछि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको भएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो। ‘विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको हो भनेर जवाफ दिएको छ। मन्त्रालयमा कुरो गरेको, उताबाट सबै कागजात यतै पठाउनू भनेर लिखित रूपमा माग भएकाले सबै फाइल मन्त्रालयमा पठाएका छौं।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘यससम्बन्धी सबै कारबाही अब उतैबाट हुनेछ।’ उता उजुरीकर्ता हरिबहादुर पुनले भने प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार प्रयोग नगरेकाले थप कानुनी प्रक्रियाका लागि अदालत जाने चेतावनी दिएका छन्।

 

नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाण पत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुटा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्नु पर्नेछ। उता सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुटो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने,’ व्यवस्था छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

रोल्पा नागरिकता वीरबहादुर खत्री गंगादेव गाउँपालिका

विशेष