News

पुनः कार्यभार समाल्दै सञ्जेलले भने : भ्रष्टाचारीलाई गेटभित्र छिर्न दिन्नँ

पुनः कार्यभार समाल्दै सञ्जेलले भने : भ्रष्टाचारीलाई गेटभित्र छिर्न दिन्नँ

मोरङ । भ्रष्टाचार विरोधी छवि बनाएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन्। संजेल बुधबार बिहान ९ः४५ बजे कार्यालय पुगेर कार्यालयको हाजिरी पुस्तिकामा हाजिर गरेका छन्। उनले कार्यभार सम्हाल्दै उनले भ्रष्टाचारीलाई कार्यालयको गेटबाट भित्रै पस्न नदिने उद्घोष गरेका छन्।

 

कार्यालयमा हाजिर हुँदै संजेलले तीन कामलाई प्राथमिकता तोकेका छन्। उनले श्रम कार्यालयमा सेवाग्राहीले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरेरनगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने प्रतिबद्धता गरे।

 

संजेलले आफू मातहतको कार्यालयमा आएका सेवाग्राहीको काम प्राथमिकता दिने बताउँदै बुधबार दुई वटा मुद्दाको पेशी तोक्ने र खुला इजलासबाट मुद्दा फैसला गर्ने उद्घोष गरे। पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालयबाहिर सटर खोलेर काम गरिरहेकाहरुले काम छिटो गरिदिन्छु भनी गैरकानुनी काम गरे अख्तियारलगाएर जेल हाल्ने चेनावनी दिए। ‘हामीले हाम्रो कार्यालयअगाडि पैसा उठाउने एजेन्ट राखेका होइनौं,’ संजेलले भने, ‘त्यस्तो काम गरेको पाइए अख्तियारलाई बुझाइदिन्छौं।’

 

गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो। उक्त सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए। सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो।

प्रेम सञ्जेल श्रम कार्यालय

विशेष