News

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । नियमित चेकजाँचका क्रममा अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना भएका छन्।

 

प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि बुधबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा हरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए। चिकित्सकले बाहिरभन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। उनका अनुसार बुधबार बिहान १० बजे प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पताल पुगका थिए।

 

प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए। अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्सरे सहित अन्य परीक्षणको कामसमेत भइरहेका बताइको छ। परीक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको डा. सायमीले बताए ।

 

यसअघि पनि प्रधामन्त्री ओलीको सोही अस्पतालमा उपचार गरिएको थियो। पाँच दिनको अस्पताल बसाइँपछि प्रधानमन्त्री १६ कात्तिक साँझ डिस्चार्ज भएका थिए। छातीको संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित भएपछि १२ कात्‍तिक बिहान उनी शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका थिए। उनलाई प्राडा. अरुणकुमार सायमी संयोजकत्वको तीन सदस्यीय चिकित्सक टोलीले उपचार गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष