श्रम बैंकमार्फत बेरोजगार युवालाई रोजगारी

कालिकोट । रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममार्फत श्रम बैंकको सुरुवात गरिएको हो ।
युवालाई गाउँमै रोजगारी दिन श्रम बैंकको सुरुवात गरिएको मेयर काशीचन्द्र बरालले बताए । ‘श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेका छौँ । यसैमार्फत युवालाई निर्माणमा खटाउँछौँ , उनले भने । नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ ।
नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । पहिलो चरणमा दुई सय युवायुवतीलाई रोजगार दिइने मेयर बरालले बताए । उनीहरूको क्षमताअनुसार काममा लगाइने जनाएको छ । विशेष गरेर विकास निर्माणका काममा लगाइने जनाएको छ । कामअनुसार नै ज्याला पनि दिइने मेयर बरालले बताए । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
रोजगारी श्रम बैंक