News

राजनारायण पाठक घुस प्रकरण : उपराष्ट्रपतिका छोरासँग बयान लिने अख्तियारको तयारी

राजनारायण पाठक घुस प्रकरण : उपराष्ट्रपतिका छोरासँग बयान लिने अख्तियारको तयारी

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपत नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग वयान लिने तयारी गरेको छ।

 

अख्तियारले उपराष्ट्रपति पुनका छोरी दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर र उक्त प्रकरणमा मुछिएका दर्जनभन्दा बढीसँग वयान लिन लागको हो । आयोगले पाठलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार वयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले न्यौपानेको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ।

 

न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ। विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन। उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए।

 

त्यस्तै अख्तियारले राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायणसँग बयान लिँदैछ। पाँच वर्षअघि शुभनारायणले छोरी पढाउन भनेर झासँग १५ लाख लिएका थिए। उनले त्यो रकम अहिलेसम्म फिर्ता गरेका छैनन्। अख्तियारले पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानसँग बयान लिनेछ। राजपा नेता झा र मोक्तानले भिडियो बनाएर पाठकको कर्तुत बाहिर ल्याएका थिए। अहिले मोक्तान भारतमा छन्। पाठकको घुस प्रकरणको अडियो–भिडियो झा र मोक्तानले सार्वजनिक गरेका थिए। शुभनारायणले लम्बोदर र झालाई आयुक्त पाठकसम्म पु¥याएका थिए। घुस विवाद मुछिएका शुभनारायण पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन हुन्।

 

यसैगरी अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसँग पनि बयान लिने भएको छ। पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेको पाइएको छ। घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एएसपी सिंह र पुनलाई प्रयोग गरेको अख्तियार स्रोतको दाबी छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

राजनारायण पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग दीपेश पुन

विशेष