News

राष्ट्रपति किन सधैं विवादमा?

राष्ट्रपति किन सधैं विवादमा?

काठमाडौं । सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए। शितलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घन्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो। यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरेका हुन्।

 

राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन । भिभिआइपीको सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रूट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र ट्राफिक प्रहरीले निर्धारित सवारी रूटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँछ । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती पाउने गरेका छन्।

 

मंगलबार पनि सर्वसाधारण घर फर्किने बेला लाजिम्पाटमा राष्ट्रपतिको सवारीका कारण लामो समय रोकिनुपर्यो । ट्राफिक प्रहरीले साढे ६ बजे ‘अबको केही समयमा विशेष कारणवश शितलनिवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र सालिक, भद्रकाली हुँदै चल्ने सवारीसाधनहरु एकतर्फीरूपमै प्रभावित हुने कारण सो रूट भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ,’ भन्दै फेसबुकमार्फत जानकारी गराएको थियो । तर कति समय भन्ने जानकारी गराइएको थिएन । समय निर्धारण नहुँदा पनि सर्वसाधारणले सास्ती पाए । धेरैबेर सडकमा बस्नुपरेपछि सर्वसाधारणले ड्युटीमा रहेका ट्राफिक प्रहरीको आदेश उल्लंघन गर्दै आफ्ना सवारी अघि बढाएका थिए ।

 

केही समययता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउने खोजेको, विलासी गाडी र हेलिकोप्टर किन्न लगाएको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ । त्यतिमात्र होइन गत दसैंमा राष्ट्रपति निवासमा टीकाजमरा लगाउने कार्यक्रमस्थलमा टीका थाप्नेलाई कुर्सीसमेतको व्यवस्था नगरेको भन्दै उनको आलोचना भएको थियो । 

 

राष्ट्रपति कार्यालय प्रशासन र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले यो विषयमा राष्ट्रपतिलाई भने जानकारी नै नदिएको स्रोतले जनाएको छ । ‘कतिपय कुरा सञ्चारमाध्यममा आएपछि मात्रै राष्ट्रपतिले थाहा पाउने गर्नुभएको छ। यसो नहोस् भनेर सधैं बाहिरको अवस्था के छ भनेर सोध्ने पनि गर्नुभएको छ तर आलोचना भइरहेको छ । यो विषयमा उहाँ आफैं चितिन्त हुनुहुन्छ,’ राष्ट्रपति निकट स्रोतले भन्यो। सुरक्षा जिम्मा लिएको सुरक्षा संगठनले बाहिरको अवस्थाबारे राष्ट्रपतिलाई कुनै जानकारी नगराउने पनि स्रोतले जनायो ।

 

स्रोतले केन्द्रीय सुरक्षा समितिले यस्तो सवारी सञ्चालनबारे अहिलेसम्म राष्ट्रपति कार्यालयलाई जानकारी नगराएको दाबी गरेको छ । ‘राष्ट्रपतिको सवारी चलाउन केन्द्रीय सुरक्षा समितिले सुरक्षा थ्रेट विश्लेषण गर्नुपर्ने हुन्छ । तर अनौपचारिक कार्यक्रममा भने राष्ट्रपति कार्यालय र राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हचुवाकै भरमा सवारी सञ्चालन गर्ने हुँदा प्रहरीलाई पनि सुरक्षा दबाब पर्ने स्रोतले बतायो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवस

विशेष