News

जुवातासको लतले जसको भयो उठिबास

जुवातासको लतले जसको भयो उठिबास

काठमाडौं : पुख्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे  हुन्। अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन्।  साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन्।  

 

केही दिनअघि गोंगबुस्थित जुवाखालबाट समातिएका मगर त्यसअघि पनि तीन पटक पक्राउ परिसकेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मगरसहित पक्राउ परेका नौ जनालाई जुवा खेलेको आरोपमा पक्रिएको छ। जुवाडेको साथबाट नगद नभई किलो भन्दा बढी मकैको गेडा र सिमीको दाना बरामद गरिएको छ। परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरीको आँखा छल्न र जुवा खेललाई सहज बनाउन नगदको सट्टा मकै र सिमी प्रयोग गर्छन् । काठमाडौँ उपत्यकामा सञ्चालित अबैध जुवाअखडाहरूमा नगदको सट्टा यस्तै गेडागुडी प्रयोग गरी जुवातास खेल्दाखेल्दै कतियय पूर्वब्रिटिस लाहुरे मगर जस्तै सङ्कटमा परेका छन् ।

 

गोकर्णेश्वर जोरपाटीबाट पक्राउ परेका वाङ्गेल लामा भन्छन्, “जुवाखालमा हार्दा सिमीको दाना हारेको जस्तै हुन्छ तर, त्यसलाई पछि नगदमा रुपान्तरण गर्दा घरजग्गा नै गइसकेको हुन्छ।” जुवाघर सञ्चालनको आरोपी समेत रहेका वाङ्गेल जुवातास ‘नसा’ भएको स्वीकार्छन्।  “मैले पनि धेरै सम्पत्ति गुमाइसके,’’ प्रहरीसँगको वयानमा वाङ्गेलले भने, ‘‘क्यासिनोमा नेपाली नागरिकको प्रवेश निशेध गरेपछि कोठा र फ्ल्याट लिएर जुवा अखडा सञ्चालन गर्नेहरू बढे।’’ प्रहरीका अनुसार, जुवा अखडा सञ्चालनमा ‘नामुद’ कहलिएका वाङ्गेल खेल्ने भन्दा खेलाउन सक्रिय थिए। जुवा खेल्ने र खुलाउने गरेको अभियोगमा बारम्बार पक्राउ पर्ने गरेका पूर्वब्रिटिस लाहुरे खम्म र जोरपाटीका वाङ्गेल जस्तै जुवा खेलेर घरसम्पत्ति उडाउनेको नाम लामो छ।

 

पक्राउपछि प्रहरीसँगको वयानका क्रममा उनीहरूले आफ्नो कथाव्यथा खोल्ने गरेको पाइएको छ।  उपत्यकामा चोरी, डकैती लुटपाट र लागूऔषध ओसारपसारपछि पक्राउ पर्ने आरोपीमा पनि जुवाडे धेरै छन्। सहरको हरेक नयाँबस्ती, होटल, घर, गल्लीदेखि गाडीको शो–रुम र मोटरसाइकल वर्कसपमा मिनी क्यासिनो सञ्चालन हुने गरेको भनाइ प्रहरीको छ।  

 

जुवामा युवाभन्दा पाको उमेरका महिला–पुरुषको संलग्नता बढी नै देखिएको छ। परिसरले दिएको तथ्याङ्क अनुसार, यो वर्षको बैशाखदेखि फागुन २० गतेसम्म १०८ स्थानमा सञ्चालित जुवाअखडामा प्रहरीले छापा मारेको छ। ती अखडाबाट ८२६ जना जुवाडे पक्राउ गर्नुका साथै एककरोड १४ लाख ८५ हजार रुपियाँ नगद बरामद भएको छ। त्यस्तै, करिब तीनसय गड्डी तास, नगदको रुपमा प्रयोग हुने मकै र सिमी लगायतका गेडागुडी करिब तीन किलो भन्दा बढी बरामद गरेको छ।

जुवातास

विशेष