वीर र ट्रमामा करोडौंको उपकरणमा ताला, कान्तिमा म्याद गुज्रिएको सिटी स्क्यानबाट बालबालिकाको उपचार

वीर र ट्रमामा करोडौंको उपकरणमा ताला, कान्तिमा म्याद गुज्रिएको सिटी स्क्यानबाट बालबालिकाको उपचार

काठमाडौं । वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।

 

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन । ‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा। गणेश राईले नयाँ पत्रिकासँग भने । 

 

उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटक–पटक ताकेता गरेको छ । तर, अघिल्लो वर्षभन्दा बजेट झन् घटेको छ । ‘अरू अस्पतालमा भए नयाँ उपकरण पनि थन्किएर बस्थे, तर हामीले वर्षौँ पुराना मेसिन पनि मर्मत गर्दै चलाइरहेका छौँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिन हामीसँग योभन्दा अर्को विकल्प छैन,’ निर्देशक राईले भने । सरकारले गत वर्ष २१ करोड ८४ लाख बजेट अस्पताललाई दिएको थियो । तर, यो वर्ष १२ प्रतिशत घटाएर १९ करोड २० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।   

 

कान्तिमा अहिले चलिरहेको सिटी स्क्यान मेसिन १६ स्लाइसको छ । जब कि निजी अस्पतालमा ५ सय स्लाइससम्मका मेसिन सञ्चालनमा छन् । अन्य केही सरकारीमा पनि १ सय २८ स्लाइससम्मका छन् । कम स्लाइसको सिटी स्क्यान मेसिनको रोग पहिचान गर्ने क्षमता कम हुन्छ । मनिटर, भेन्टिलेटर, मुटु र श्वासप्रश्वास जाँच गर्ने उपकरण पनि छैन । 

 

अस्पतालमा एक्सरे मेसिन पनि १५ वर्ष पुरानो छ । बिरामीलाई निमोनिया भए–नभएको छुट्याउन यो एक्सरेले सक्दैन । त्यो पनि कहिलेकाहीँ बिग्रिन्छ । वैकल्पिक एक्सरे यति पुरानो छ जसले खिचेका तस्बिर पानीमा धुलाउनुपर्छ । 

 

बाल अस्पतालमा एमआरआई मेसिनसमेत छैन । त्यस्तै प्याथोलोजिस्ट अभावमा जटिल रोगको पहिचान गर्न समस्या छ । १०औँ र ११औँ तहको एक गरी दुई प्याथोलोजिस्टको दरबन्दी छ, तर खाली छ । त्यसैले अस्पतालमा भर्ना भएका बालबालिकालाई स्वास्थ्य परीक्षण गर्न निजी अस्पतालमा लग्नुपर्ने बाध्यता छ । यो खबर आाजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

कान्ति बाल अस्पताल वीर अस्पताल ट्रमा सेन्टर

संम्बधित खबर

विशेष