News प्रदेश ५

११ वर्षमै आमा!

११ वर्षमै आमा!

गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका-४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ। यतिखेर उनी शरीर सुन्निने र ज्वरो आउने समस्याबाट पीडित छिन्।

 

गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्टपूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दबहादुरको पछिल्लो अवस्थाले अरुको पनि मन पिरोल्ने गरेको छ । शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्।

 

शरीर कमजोर छ, हिँडडुल गर्न पनि सक्दिन, दुई साताकी सुत्केरी भावनाले आफ्नो पीडा सुनाइन्। बच्चालाई प्रर्याप्त दूध पुग्दैन। उनलाई माइतीले अहिलेसम्म भित्र्याएका पनि छैनन्।मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बितेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै थिए ।भावनाले थपिन्, ‘घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु।’ जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताइन्। दिदीको घरमा बसेर पढ्दै आएका नन्दबहादुर पनि आर्थिक संकटका कारण गाउँमै मजदुरी गर्दै आएको उनले बताइन्। भेट्नका लागि दिउँसो झुप्रोमा आएपनि रातको समयमा भने आफू एक्लै बस्ने गरेकी छु। चैत्र महिनादेखि परीक्षा सुरु हुने भएकाले आफूलाई पढ्ने इच्छा रहेको उनले व्यक्त गरिन्। कसैको सहयोग पाए छोरीसहित आफू परिवारसँगै बस्ने इच्छा भएको उनले बताइन्। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

बर्दिया भावना बस्नेत

विशेष