News

स्रोत र आवश्यकताअनुसार कर्मचारीको सुविधा थपिन्छः मन्त्री पण्डित

स्रोत र आवश्यकताअनुसार कर्मचारीको सुविधा थपिन्छः मन्त्री पण्डित

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विहीबार प्रतिष्ठानमा आयोजना गरेको ३३ औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उहाँले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पारे । 

 

सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताए । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताए । 

 

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले नवनियुक्त कर्मचारीमा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक सोच हुनुपर्नेमा जोड दिए । प्रशासनमा कुरा गर्नेभन्दा काम गर्ने व्यक्ति आवश्यक भएको उनले बताए ।  सार्वजनिक सेवा प्रशासन विभागका वरिष्ठ निर्देशक नारायणगोपाल मलेगोले प्रशासनमा रहेको ढिलासुस्ती बदल्ने जिम्मेवारी नवनियुक्त कर्मचारीको काँधमा रहेको बताए ।

मन्त्री लालबाबु पण्डित निजामती कर्मचारी

विशेष