News

पानी जहाजको टर्मिनलको खोजीका लागि नेपाल भारत संयुक्त बैठक 

पानी जहाजको टर्मिनलको खोजीका लागि नेपाल भारत संयुक्त बैठक 

काठमाडौं । नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ ।  बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । बैठक शुक्रबारसम्म चल्ने छ ।

यसअघि मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेको तीन हप्तापछि नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा मङ्लबार र बुधबार सम्भाव्यता अध्ययन गरेको हो ।

त्यसक्रममा नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरिएको उर्जा, जल तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।

नेपालतर्फको टोलीमा विभिन्न मन्त्रालयका गरी १७ जना र भारतीय टोलीमा नौ जनाको सहभागिता थियो । संयुक्त टोलीले कोशीमा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्नुका साथै नेपालतर्फ जहाज रोकिने ठाउँ (टर्मिनल) निर्माणका लागि कोशी ब्यारेजको एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको जानकारी प्रवक्ता अर्यालले दिए । उनका अनुसार टोलीले दुईटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको हो ।

त्यसैगरी, अध्ययन टोलीले नवलपरासीस्थित नारायणी नदीमा सम्भाव्यता अध्ययन शुरु गर्नुका साथै यस नदीमा नेपालतर्फ पानीजहाज रोकिने ठाउँ निर्माणका लागि गण्डक नदीअन्तर्गत त्रिवेणी ब्यारेज क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको हो ।

गण्डकी ब्यारेजको स्पर नं। १२ क्षेत्रमा अवलोकन गरिएको नेपालतर्फको टोलीका प्रमुख बेल्बासेले जानकारी दिए । त्रिवेणीको ब्यारेजको तल्लो क्षेत्र तथा नवलपुरको कावासोती क्षेत्रमा टर्मिनल निर्माण गर्न सकिने सम्भावना देखिएको उनले बताए ।

जहाज सञ्चालनका लागि अध्ययन र टर्मिनल निर्माणका लागि भएको ठाउँको अवलोकन कार्य यस आयोजनालाई अगाडि बढाउन निकै नै फलदायी हुनेछ । अहिलेसम्मको अध्ययनबाट पानी जहाज सञ्चालनका लागि न्यूनतम जलस्तर देखिएको हुनाले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भावना सबभन्दा बढी रहेको देखिएको छ ।

प्राविधिक रूपले नेपालमा पानीजहाज सञ्चालनको सम्भावना देखिएको छ, तर आर्थिक रुपमा सम्भव छ छैन त्यो अध्ययन गर्न बाँकी नै रहेको जनाइएको छ । काठमाडौं बैठकले त्यस विषयमा पनि छलफल गर्ने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

पानी जहाज

विशेष