हिमआँधीले पोखरामा होटल भत्किए

पोखरा । लगातारको हिमपात र हिमआँधीले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ होटल भत्केका छन्। मौसम प्रतिकूल भएपछि स्थानीय होटल व्यवसायीले होटलमा ताला लगाएर बेंसी झरेको र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मौसम बिग्रिएसँगै त्यतातर्फ पर्यटक जान रोक लगाएकाले मानवीय क्षति नभएको एक्याप घान्दु्रकका प्रमुख विदुरविक्रम कुँइकेलले बताए। अन्नपूर्ण बेसक्याम्प समुद्र सतहदेखि ४१ सय ३० मिटर उचाइमा छ।
फागुन १५ गतेको हिमआँधीले होटलका छाना उडाएको र भत्काएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। बेसक्याम्पमा पहिलो पटक यति धेरै हिमपात भएको र हिमआँधी आएकाले होटल नै भत्किएको स्थानीय होटल अन्नपूर्ण सेन्चुरीका सञ्चालक जेबी गुरुङले बताए। ‘०३८ सालमा बाबाले गोठ बनाएर बेसक्याम्पमा पर्यटकलाई सेवा दिँदै आउनु भएको थियो’, उनले भने। त्यसपछि २२ वर्षदेखि यहाँ होटल चलाउँदै आए पनि पहिलो पटक यति धेरै हिउँ पर्नुका साथै आँधीसमेत आउँदा होटल भत्केको उनले बताए।
हिमआँधीले भत्केका होटल पुनर्निर्माण गर्न केही समय लाग्ने भएकाले यो सिजनमा होटल चलाउन समस्या पर्ने उनले सुनाए। बजारबाटै पुनर्निर्माणका आवश्यक सामग्री बोकेर जानुपर्ने हुँदा होटल मर्मत गर्न समय लाग्ने उनले बताए। अन्नपूर्ण आधारशिविरमा ४ होटलमा गरी दैनिक १ सय ६० जनासम्म पर्यटक अट्ने क्षमताका थिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
पोखरा हिमआँधी