News

राष्ट्रपति र उपराष्ट्रपतिबाट महिला दिवसको शुभकामना : ‘महिलाको सर्वांगीण विकासमा सबैको ध्यान जानुपर्छ’

राष्ट्रपति र उपराष्ट्रपतिबाट महिला दिवसको शुभकामना : ‘महिलाको सर्वांगीण विकासमा सबैको ध्यान जानुपर्छ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन। शुक्रबार १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

 

राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरिन्। उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना व्यक्त गरिन्।

 

'संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ', उनले सन्देशमा उल्लेख गरेकी छन।

 

‘कलैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन्।

 

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन्। १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताए।

 

उपराष्ट्रपतिले सन्देशमा निभएको छ, 'जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।'

 

संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उनको भनाइ छ । उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन् ।

विद्यादेवी भण्डारी नन्दबहादुर पुन

विशेष