News राजनीति

तातोपानी कुण्डमा देउवा र पौडेलको माया, शंकै शंका जिन्दगानीमा 

तातोपानी कुण्डमा देउवा र पौडेलको माया, शंकै शंका जिन्दगानीमा 

तस्बिर नै काफी छ, धेरै भन्न जरुरी छैन । तर, तस्बिर सार्वजनिक भएसंगै उत्पन्न भएका प्रश्न र संशयका बिषयमा भने छलफल गर्न जरुरी छ । 
तस्बिरमा म्याग्दीको तातोपानी कुण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नुहाँदैछन् । दुवै जना प्रफुल्ल छन् । खुशी देखिन्छन् । त्यसो त फोटो खिचाउँदा खिन्न मान्छेले पनि दाँत देखाउँछ । भित्र दुःखको पहाड लिएको मान्छे पनि फोटो खिच्दा खिसिक्क हाँसेको हुन्छ । 

 


राजनीतिकर्मीको कुरा अली बेग्लै हुन्छ । उनीहरुको अनुहार पढेर भित्रि कुरो पत्ता लगाउन सकिदैन । भन्ने एउटा गर्ने अर्कै, गर्ने एउटा भन्ने अर्कै । नेताहरुमाथि अविश्वास बढेर मुलुकको दर्दनाक अवस्थामा आउनुको पछाडी पनि यो एउटा बलियो कारण हो । यसकारण फोटोमा देउवा र पौडेल खुशी देखिन्छन् भन्दैमा उनीहरु  निष्कपट, स्वच्छ र निर्दोष छन् भन्न सकिदैन । 

 


‘तातोपानी कुटनीति’ पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न देउवाको रणनीति हो भन्ने स्पष्टै छ । केही समयअघि मात्रै महासमिति बैठकको निर्णय केन्द्रीय समिति बैठकले उल्ट्याएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेख्ने र अरुलाई पनि लेख्न लगाउने पौडेल देउवासंग भित्रभित्रै साँठगाँठ गर्छन् भन्ने यो पछिल्लो प्रमाण हो । 

 


सभापति देउवालाई पौडेलका सबै कमजोरी थाहा छन् । के गर्यो भने पौडेल खुशी हुन्छन् भन्नेमा पूर्ण जानकार रहेका देउवाले महासमिति बैठकका दौरान पनि पौडेललाई हातमा लिएका थिए । देउवाप्रति निकै आक्रामक रहेका महासमिति सदस्यहरुले पनि पौडेल र देउवा मिलेको देखेर मन खोलेर वह पोख्न सकेका थिएनन् ।  त्यही भएर बैठकको समापनमा देउवाले उत्साहीत हुँदै पौडेलसंग आफनो ‘डीप लभ’ परेको प्रतिक्रिया दिएका थिए । 

 


कांग्रेस भित्र पौडेललाई सानो मुटु अर्थात ‘चिकेन हार्ट’ भएको नेताका रुपमा लिइन्छ । उनलाई सानो कुराले पनि चित्त दुख्छ । सानो कुरोमा उनी मख्ख पनि पर्ने गर्छन् । 


‘आफना आफन्त र नातागोताका मानिसलाई जागिर लगाउने तथा आफनो रोजिरोटी चल्ने सुनिश्चितता मात्रै पनि हुने हो भने पौडेल जे सम्झौता गर्न पनि तयार हुन्छन् । ’ पौडेल पक्षकै एक केन्द्रीय सदस्यले भने ।   

 

‘आफू चुनाव हार्ने अनि आफनै जिल्लाका कांग्रेसकै नेता गोविन्दराज जोशीलाई समाप्त पार्न खोज्नेले पनि कहिं पार्टी र मुलुकको नेतृत्व गर्न सक्छ ? रामचन्द्र दाईप्रति पार्टीमा बिश्वास गुम्दो अवस्थामा छ । ’ अर्का केन्द्रीय सदस्यले भने । 

 


वास्तवमा रामचन्द्र पौडेल भित्रभित्रै पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबाट खुशी छन् । यदि पदाधिकारी  वा केन्द्रीय सदस्य वडास्तरबाटै चुनिएर आउनुपर्ने व्यवस्था लागु गर्ने हो भने उनी आफै चुनिने सम्भावना पनि न्यून छ । यो कुरा उनले राम्ररी बुझेका छन् । जीवनभर कमाएको नाम वडास्तरमै खरानी पो हुने कि भन्ने चिन्ता उनीमा छ । तर, पार्टीमा उनी पक्षधर अधिकांश नेताहरु महासमितिको सुझाव अनुसार नै चल्नुपर्ने अडानमा भएकाले उनी नैतिक दबाबमा परेकामात्र हुन् । 

 


अर्को कुरा, डा. शेखर कोइरालाले आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेपछि पौडेल आत्तिएका छन् । महाधिवेशनमा कोइराला परिवारबाट सभापतिका लागि साथ नपाउने भएपछि किन अलग्गै गुट बनाएर बसिरहनु पर्यो भन्ने सोच पनि उनमा पलाउँदै आएको छ । यसकारण पनि बेलाबेलामा उनको देउवासंग ‘डीप लभ’ पर्ने गरेको छ । 

 


‘तातोपानी कुण्ड’ रणनीतिले बिशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न तयार रहेका ५६ जिल्लाका सभापति भने सशंकित भएका छन् । उनीहरुले पौडेलकै आडमा केन्द्रीय समिति बैठकले गरेको पछिल्लो निर्णय सच्याउन भन्दै बिज्ञप्ती जारी गरेका थिए । नेता जगदिश्वरनरसिंह केसीका अनुसार केही दिनमै बिशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गर्ने तयारी थियो । तर, कुण्डको यो प्रेमालापले सबैमा सन्ताप बढाइदिएको छ । 

 


यता, कोइराला परिवारका डा. शेखर कोइराला, डा. सशांक कोइराला र सुजता कोइराला तथा देउवाबिरुद्ध कस्सिएर लागेका प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, कृष्ण सिटौला लगायतका नेताहरुपनि सशंकित भएका छन् । उनीहरुले देउवाको खतरनाक ट्याक्टिस र पौडेलको अस्थिर स्वभावका कारण आफूहरु खतरामा पर्न सक्ने भन्दै आपसी छलफल सु्रु गरिसकेका छन् । 

 


देउवा पक्षधरलाई भने यो फोटोले राहत दिएको छ । तस्बिरमा नदेखिएपनि प्रवक्ता बिश्वप्रकाश शर्मा पनि उनीहरुसंगै म्याग्दी गएका थिए । प्रवक्ता शर्मासहित बिमलेन्द्र निधि, पूर्णबहादु्र खड्का, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरुको कसरतका कारण देउवा र पौडेल सम्बन्ध घनिभूत हुँदै गैरहेको छ । 

 


एकथरी नेताहरुले पार्टीमा बुढापाकाहरुले पद छोड्नुपर्ने अभियान चलाएकाले पनि दुवै नेता एकठाउँमा उभिनुपर्ने अवस्थामा पुग्न थालेका छन् । तातोपानी कुण्ड स्नान यसकै एउटा कडी हो । 

 


तातोपानी कुण्डमा एकसाथ नुहाउन त नुहाए तर प्रश्न भने उठेकै छ, ‘कुण्डको पानीमा, देउवा–पौडेल मिल्लान र जिन्दगानीमा ?’ 
 

विशेष