राजपाप्रति ओली र प्रचण्ड अनुदार, हिजो प्रेम आज घृणा
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिवार रौतहटको गरुडामा आयोजित नेकपाको आमसभामा राष्ट्रिय जनता पार्टी (राजपा) प्रति घृणा ओकले । स्वतन्त्र मधेश अभियानमा लागेका सिके राउतसंग सहमति गरे लगत्तै मधेश झरेका ओली र दाहालले राजपाले प्राप्त गरेको जनमतको समेत कदर गरेनन् ।
ओलीले राष्ट्रिय जनता पार्टी नेपाललगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्ति नदेखाउन चेतावनी दिए । अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्नेमा दुई मत नरहेको बताउन समेत उनी पछि परेनन् ।
त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बढी कचकच गरे प्रदेश २ मा मधेशी दलललाई हटाएर नेकपाकै सरकार बनाउने धम्की दिए । प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने तर अस्थिरता ल्याउन नचाहेकाले त्यसो नगरेको उनले बताए । उनले जनतालाई भ्रममा पारेर अल्ली बढी मत ल्याउँदैमा नेकपालाई सिद्धायौँ भनेर नफुर्किन चेतावनी दिए । प्रधानमन्त्री ओलीले जस्तै उनले पनि आगामी निर्वाचनमा ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी बन्ने दाबी गरे । नेकपाका अर्का वरिष्ठ नेता माधव नेपालको भनाइ पनि यस्तै थियो ।
प्रश्न आउँछ नेकपाले राजपासंग यति बैमनश्यता साँध्नुको कारण के हो ? हिजो चुनावका दौरान राजेन्द्र महतोसहितका नेताहरुलाई जिताउन आफना कार्यकर्तालाई भोट हाल्न लगाउने, सरकारलाई समर्थन गरिदिनुस भनेर ढोकाढोका चहारेर वार्ता गर्ने, राजपाकै माग बमोजिम रेशम चौधरीलाई शपथ गराउने, अहिले आएर सिके राउतसंग सहमति भयो भन्दै उनीहरुको हुर्मत लिने ? निर्वाचनमा आफूले प्राप्त गरेको मत चाहिं जनमत अनि राजपा नेताहरुले पाएको मतचाहिं छलछाम ? यसलाई राजपाले जनता झुक्याएको भन्न मिल्छ ?
एकजना बहालवाला प्रधानमन्त्री र अर्का पूर्व प्रधानमन्त्रीले मुलुकको एउटा राष्ट्रिय पार्टीसंग गर्ने व्यवहार यही हो ? बिगतमा र अहिले पनि ओली तथा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि मधेशी दलहरुसंग उनीहरुको माग पूरा गर्ने भनी लिखित सम्झौता भएका छन् । आफू अनुकुलहुँदा सबै ठीक, अहिले धम्की ?
ओली र दाहाल राजपासंग रुष्ट हुनुको एउटा कारण राजेन्द्र महतो हुन् । महतोले रेशम चौधरी प्रकरणमा ओली र दाहालको नामै लिएर संसददेखि सडकसम्म प्रश्न उठाएका छन् । उनले ओलीले आन्दोलन गरेकै कारण चौधरी जेल जानुपर्ने हो भने प्रचण्ड र ओली पनि जेल जानुपर्छ भनी कडा टिप्पणी गरेका छन् । यसबाट रुष्ट ओली र दाहालले राजपासंग अहिले प्रतिसोध मात्र साँधिरहेका छन् ।
राजनीतिक दल र तीनका नेताहरुसंग राजनीतिक व्यवहार गर्नुपर्छ । राष्ट्रिय मुद्दाका हिसाबमा पक्ष बिपक्ष होला तर आफनो आलोचना गरेकै भरमा कसैको जनमतको खिल्ली उठाउन पाइदैन । त्यसो हो भने त दाहालमाथि पनि १७ हजार जना मान्छेको ज्यान लिएको अभियोग छ । ओलीमाथि पनि झापा आन्दोलनदेखिका कु्रा छन् । आजपनि सिके राउतसंग भएको सम्झौता ‘राष्ट्रघाती’ भएको भन्ने आवाज स्वयं नेकपा भित्रै उठ्न थालिसक्यो ।
राजनीतिक दल र नेताहरुमाथिको व्यवहार शोभनिय नहुने हो भने यस्ले झन ठूलो खतरा निम्त्याउन सक्छ । शुक्रवार सिके राउतसंग सहमतिका दौरान प्रधानमन्त्री ओलीले जसरी बिप्लव नेतृत्वको नेकपालाई कटाक्ष गरे, त्यसले उन्माद मात्र बढाएको छ । परिणामतः बिप्लवको पार्टीले नेपाल बन्द लगायतका कार्यक्रम सार्वजनिक गरिसक्यो । यो सबैको मार पर्ने भनेको जनतालाई हो । यसको जिम्मा कसले लिने ? झण्डा हल्लाउँदै अगुवापछुवा लगाएर हिंड्ने सरकारका मन्त्रीलाई त अशर नपर्ला तर मकै पोलेर साँझको चुल्हो बाल्ने आमाको पीडा कसले बुझने ?
सरकारलाई दिएको समर्थन फिर्ता लिएर बसेको राजपा आक्रोशित अवस्थामा रहेकाबेला प्रधानमन्त्री र सत्तारुढ दलको काम भनेको उसलाई शान्त बनाउने हो । बिप्लवसंग पनि वार्ताको प्रक्रियालाई तीव्रता दिने हो । आफनो छाती ठूलो पार्ने हो । तर, यहाँ त प्रधानमन्त्री र प्रचण्डकै छाती ढुकुरे देखिन्छ ।
यो ढुकुरे छातीले देश र जनताको त कुरै छोडौं, स्वयं नेकपा पार्टी र त्यसका नेताहरुलाई विनाशतर्फ मात्रै लैजाने निश्चित छ ।