वैशाखदेखि विद्यालयले राष्ट्रिय झन्डा फहराउनुपर्ने
काठमाडौं । आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्यरूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिए । सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यूनतम् पाँच मिटर ८० सेन्टिमिटर (१९ फिट) को अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झन्डा फहराउनुपर्ने र मूलद्वारबाट सामान्यतया मध्य भागमा वा बीचमा प्रष्ट देखिने गरी राष्ट्रिय झन्डा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा राष्ट्रिय झन्डा फहराउने संस्थाले नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिनमा अनिवार्य रूपमा राष्ट्रिय झण्डा झुकाउनु व्यवस्था गरिएको छ । यसैगरी कामपा शिक्षा समितिले हरेक विद्यालयमा कक्षा सुरु हुनुभन्दा अगाडि अनिवार्यरुपले राष्ट्रिय गान गाउनुपर्ने पनि निर्णय गरेको छ । सोही कार्यविधिमा राष्ट्रिय गान उच्च सतर्कताका साथ गाउनुपर्ने व्यवस्था छ । शिक्षा विभाग प्रमुख कोइरालाले छातीमा हात राखेर राष्ट्रिय गान गाउनु गलत अभ्यास रहेको बताउँदै दुवै हात तल राखेर राष्ट्रिय गान गाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
राष्ट्रिय झन्डा काठमाडौँ महानगरपालिका