News अर्थ

मकैको सातुको व्यावसायिक उत्पादन

मकैको सातुको व्यावसायिक उत्पादन

पर्वत । नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । 

 

आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रयोग हुने गरेको छ । क्यालोरी, सुगर, फाइवर, ओमेगालगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर पहिलोपटक व्यावसायिक रुपमा मकैको सातुको उत्पादन थालिएको छ । 

 

फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले स्वास्थ्यमासमेत फाइदा पुर्‍याउने भएकाले मकै खाने बानी बढाउन यसको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ । यस अगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवालगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुसजस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको थियो । यस वर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । 

 

'मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ' भुसालले भने, 'अरू खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ । यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।' पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, पाँच प्रतिशत बदाम, तीन प्रतिशत चिनी, एक प्रतिशत नुन, एक प्रतिशत अदुवा, मरिच र अलैँची राखिएको छ । 

 

उद्योगले फलफूलको अलावा कोदो र गहुँको परिकार पनि बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने सातुलाई उत्पादनको छ महीनासम्म प्रयोग गर्न सकिने छ । विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलनमध्ये अमेरिकाबाट शुरु भएको थियो ।

 

बजारमा जौ, चनालगायत अन्य खाद्यवस्तुको सातुको माग बढ्दै गएका बेला मकैको सातुले पनि राम्रो बजार पाउने देखेर उत्पादन थालिएको भुसालको भनाइ छ । उनको उद्योगमा उत्पादित मकैको सातु सदरमुकाम कुश्माबजार, पोखरा, काठमाडौँ, नारायणगढलगायतका बजारमा पठाइने भएको छ ।

सातु

विशेष