यस्ता पनि सामुदायिक विद्यालय : भर्नाका लागि नेताको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

विराटनगर : नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन्।
पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन्। विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नुपरेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिए।
‘प्रवेश परीक्षा सुरु भएदेखि त्यसको नतिजा नआउञ्जेल हामी सबै शिक्षकको मोबाइल अफ हुन्छ,’ प्रधानाध्यापक भट्टराईले भने। उपल्लो तहको दबाब कम गर्न विद्यालयले प्रवेश परीक्षाको प्रवेश पत्र समेत परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि मात्र वितरण गरेको थियो ।
विद्यालयले कुल ४०३ जना नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा दुई हजार ७७ विद्यार्थीले फारम भरेका थिए। भर्नाका लागि फारम भरेकामध्ये कक्षा ६ देखि ९ सम्मको प्रवेश परीक्षा बुधबार सम्पन्न भएको छ भने कक्षा ३ देखि ५ सम्मको र प्राविधिक धारतर्फको प्रवेश परीक्षा बिहीबार सकिएको छ।
नेपाली माध्यममा पठनपाठन हुँदै आएको त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै आएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० सालबाट अङ्ग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गरिएको हो। अङ्ग्रेजी माध्यमको पठनपाठानसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको विद्यालयका शिक्षक महेश गौतम बताउछन्। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
सामुदायिक विद्यालय