News

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–२३ बसपार्कस्थित नेपाल सरकारमातहत रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले अतिक्रमण गरी निजी संरचना निर्माण गरेका छन्।

स्थानीय चलनचल्तीको भाउ अनुसार कम्तीमा एक करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने १५ बिघा (तीन सय कठ्ठा) जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्। ‘राम–जानकी दुलहा भगवान् बेला निकास (मन्दिर)’ नामक कुटीको संरक्षणमा रहेको सो जग्गा मन्दिरका ‘स्वघोषित’ महन्तसँग मिलेर भूमाफियाहरूले खरिद–बिक्री गरिरहे पनि नियमनकारी निकाय मौन बसेको पाइएको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा गुठी संस्थानले अधिकारविपरीत परिचालन गर्दा माफियाको हातमा पुगेको स्थानीय लक्ष्मीकान्त झाले बताए। १८८९ सालमा तत्कालीन राजा राजेन्द्र शाहले मन्दिरमा नित्य पूजापाठ तथा भगवान्को मूर्तिलाई भोग लगाउन आवश्यक स्रोत व्यवस्थापनका लागि भन्दै १५ बिघा चार कट्ठा जग्गा बिर्ताबकस गरिदिएका थिए।

अवकाशप्राप्त भूमिसुधार अधिकृत लक्ष्मीकान्त झाका अनुसार तत्कालीन राजा राजेन्द्रले मन्दिरको नाउँमा बिर्ताबकस गरिदिएको जग्गाको प्रमाण अझै सुरक्षित छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार १९५२ सालमा जानकी मन्दिरको वर्तमान भौतिक संरचना निर्माण हुनुभन्दा ६० वर्षअघि राम–जानकी दुलहा मन्दिर जनकपुर क्षेत्रको प्रसिद्ध थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

भूमाफिया जनकपुरधाम

विशेष