कहाँ कसरी मनाइन्छ नयाँ वर्ष

कहाँ कसरी मनाइन्छ नयाँ वर्ष


राजु सुवेदी ‘कल्पित’
समयको गति कसैले रोकेर रोकिन्न । यसको गति सधैं अविराम र अविरल छ । मान्छे समयलाई घडी, पला दिन, हप्ता, महिना, वर्ष मानेर कसी लगाउँछ । ३६५ दिन पूरा भएको मापदण्डमा वर्षको लेखो लगाएर अर्को यात्राको प्रारम्भ विन्दु मानिन्छ । अर्थात यो चक्र पार गरेपछि अर्को दिन आउँछ । त्यही साइत हाम्रा लागि विशेष दिन अर्थात नयाँ वर्ष भएर प्रकट हुन्छ । हामी विक्रम संवतलाई राष्ट्रिय संवत मान्छौं । अरु देशले जनवरी १ लाई नयाँ वर्ष मान्छन् । नेपालीले यो दिनलाई नयाँ जोश, उमंग, सहयोग र शक्ति आर्जन गर्ने शुभ घडी मान्छन् । नेपालीको मनोविज्ञानसंग गाँसिएको भएकाले सरकारले यस दिन सार्वजनिक विदा दिने गरेको छ । समग्रमा यो नेपालीको राष्ट्रिय चाड हो । विश्वका विभिन्न मुलुकमा नयाँ वर्ष आफ्नै पाराले मनाउने प्रचलन छ । नयाँ वर्षको फिवर कुन देशमा कसरी आउँछ ?


चीन 
नयाँ वर्ष आउनु एक साताअघि नै आतीशबाजी शुरु हुन्छ । आतीशबाजी रमाइलो त हुँदै हो, यो पुरानो मान्यतासंग जोडिएको छ । उनीहरु भान्छा घरमा देवताको बास हुने विश्वास गर्छन् । भान्सामा रहेका देवताले वर्षभरि परिवारका सदस्यको गतिविधि टिप्ने र नयाँ वर्षका दिन आफूभन्दा शक्तिशाली भगवानलाई बुझाउँछन् । गतिविधिको टिपोट लिएर गएका भगवान सोही दिन फर्किन्छन् । तिनै देवताको विदाई र स्वागतमा आतिशबाजी गरिएको हो । नयाँ वर्षका दिन चिनियाँहरु रातभर जाग्राम बसेर आमाबाबु र गुरुलाई आदरभाव प्रकट गरी आशिर्वाद लिन्छन् । त्यो दिन प्रत्येक चिनियाँका घरमा मीठा मीठा पक्वान पाक्ने गर्छ । 


कोरिया 
कोरियामा नयाँ वर्ष मनाउन सरकारले तीन दिन सार्वजनिक छुट्टी दिन्छ । उत्सवको प्रभाव यस्तो पर्छ कि नयाँ वर्षमा बजार पुरै बन्द हुन्छ । नयाँ वर्षका दिन कोरियाली चामलको रक्सी (सूल) र चामलको रोटी (तक्कूक) खाएर, ख्वाएर आमोद प्रमोद गर्छन् । यो खाद्य पदार्थले एक वर्ष आयु थपिने उनीहरुको विश्वास छ । 


थाइल्याण्ड 
 नयाँ वर्षमा घरको सफासुग्घरमा थाइ विशेष ध्यान दिन्छन् । सफा घरमा दिपावली गरेपछि भगवान खुसी भएर आशिर्वाद दिने उनीहरुको विश्वास छ । यस अलावा बौद्ध गुम्बामा गएर शान्ति दीप बाल्नुका साथै प्रार्थना गर्दछन् । साथीभाई इष्टमित्र भेला भएर मीठो खाने, राम्रो लाउने परम्परा छ । नयाँ वर्षका दिन सुगन्धित जल एक अर्कामा छर्केर आगामी दिन सुखद होस् भन्ने कामना गर्छन् । 


इरान–इराक÷अरवी मुलुक
यहाँ नयाँ वर्षलाई ‘नौरोज’ भनिन्छ । यस दिन यिनीहरु गहुँ तथा जौको हरियो अंकुर भएको भाँडाको वरिपरि ऐना, फूल, मैनवत्ती र रोटी राख्छन् । यी चीजलाई यहाँको समाजले पवित्र वस्तुका रुपमा ग्रहण गर्छ । राती दीपावली गरेर त्यसको उज्यालोमा खानपान, शुभकामना आदान प्रदान गरेर उत्सव मनाउँछन् । 


इण्डोनेशिया
नयाँ वर्षलाई यहाँ ‘गाँलुगन’ भनेर बुझिन्छ । यो दिन प्रत्येकको शरीरमा नयाँ लुगा हुन्छ । मीठा परिकार, दीपावली गरी एकापसमा बधाई तथा शुभकामना लिने दिने गर्छन् । 


जर्मनी
नयाँ वर्षका दिन जर्मनीमा विशेष प्रकारको सांस्कृतिक उत्सव हुन्छ । पानीले भरिएको धातुको भाँडामा धातुकै सिक्का खसाउन लगाइन्छ । सिक्का खसाईको अ आकृति नियालेर भविष्य वक्ताहरुले मानिसको भूत, वर्तमान र भविष्य खुट्याउँछन् । नेपालमा ज्योतिष शास्त्रसंग यसको निकटता रहेको छ । 


स्कटल्याण्ड
नवर्षको उत्सव मनाइरहेका बखत रातो बस्त्र लगाएको महिला या पुरुषको प्रवेशलाई अशुभ ठानिन्छ । अग्ला र कालो कपाल भएका मानिस त्यो दिन घरमा पसेको खण्डमा त्यसलाई लक्षिन ठान्ने यहाँको परम्परा छ । 


बेलायत
अघिल्लो वर्षको अन्तिम दिनदेखि नै यहाँ झिलीमिली बत्ती बालिन्छ । विभिन्न उमेर समूह नयाँ लुगा लगाएर गीत, संगीत रम्ने गर्छन् । रातको ठीक १२ बजे आतिशबाजी गरेर बढाईं गरिन्छ । यसपछि बल्ल नयाँ संवतको शुभारम्भ भएको विश्वास सवैलाई हुन्छ  । अमेरिका र क्यानाडामा यसै प्रकारले नयाँ वर्षको स्वागत गरिन्छ । फ्रान्समा भने ‘बसिली’ दिवसका रुपमा जताततै उज्यालै उज्यालोबीच यसको स्वागत गरिन्छ ।  


भारत 
छिमेकी मुलुक भारतमा ठाउँपिच्छे फरक फरक शैलीमा नयाँ वर्ष मनाइन्छ । भारतको बंगालमा यसदिन देवी देवताको विशेष आराधना हुन्छ । चैते दशैंको नवरात्र पनि यही बेला पर्ने भएकाले यो दृश्य देखिएको हो । रवीन्द्र संगीत, ख्याल ठट्टा, नाचगानमा भारतीय बंगाली रमाउँछन् । कुमाउ र गढ्वाल क्षेत्रमा भने गेरुवस्त्र लगाउने परम्परा छ । गेरुवस्त्र लगाएका परिवारका अग्रजले सन्ततिलाई टीकाटाला लगाइदिएर शुभकामना दिन्छन् । पञ्जावमा झाँगडा नाच निकालेर मनोरञ्जन लिने चलन छ । यसक्षेत्रमा गणेश र लक्ष्मीको भव्य पूजा, आराधना हुन्छ । महाराष्ट्रमा आफ्नो घरको धुरीमा रेशमी ध्वजापताका लगाएर घर सजाइन्छ । राजस्थानमा मीठा मीठा खानेकुरा खाएर नयाँ वर्षको स्वागतमा बस्ने चलन छ । कास्मिरमा खानेकुरा पकाएर विवाहित छोरीको घरमा भेट्न जाने परम्परा कायमै छ भने विहारमा अन्नको बाला सजाएर कला प्रदर्शन गरिन्छ । 


जापान
जापानमा यस दिन हरिया वृक्षले घर सजाउने र शुद्ध जलले घर चोख्याउने चलन छ । मान्यजनबाट आशिष ग्रहण गरेर यो दिनको शुभारम्भ गरिन्छ । त्यतिमात्र होइन, लिएको ऋण नयाँ दिनमै तिर्नुपर्छ  भन्ने मान्यता छ । 


अष्ट्रेलिया
शुभ वस्तुहरुको आदान प्रदानसंगै उपहार चढाउने परम्परा छ । 


पोर्चुगल
नयाँ वर्षमा यहाँ साँढे जुधाएर रमाइलो गर्ने चलन छ । 


वर्मा
शान्ति र समृद्धि प्राप्तिका लागि भगवान बुद्धको पूजा आराधना गर्ने परम्परा ज्यूँका त्यूँ छ । नयाँ वर्षलाई यहाँको समाजले ‘विजान’ भनेर चिन्दछ । 


स्पेन 
नयाँ वर्षका दिन कम्तिमा एक दर्जन अंगुर खानुपर्छ भन्ने मान्यता छ । 


अफ्रिका 
विवाहयोग्य किशोर किशोरीको यस दिन सामूहिक विवाह गरिदिने चलनलाई अफ्रिकीले अहिले पनि निरन्तरता दिइरहेका छन् । 
 

संम्बधित खबर

विशेष