News

०२१ सालमै सरकारले प्रतिरोपनी १ लाखमा किनेको थियो बालुवाटार जमिन (दुर्लभ कागजातसहित)

०२१ सालमै सरकारले प्रतिरोपनी १ लाखमा किनेको थियो बालुवाटार जमिन (दुर्लभ कागजातसहित)
  • ध्रुव रिजाल / पब्लिक न्युज एजेन्सी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा समेत भएको काठमाडौं–४ स्थित बालुवाटारको जमिनको किचलो विक्रम सम्वत् २०१८ सालबाट शुरु भएको देखिन्छ ।

राजा महेन्द्रले दुई चरणमा क्रमशः ८३ र ७२ जनालाई अराष्ट्रिय तत्त्व घोषणा गरेर सर्वस्व हरण गरे । उनीहरूको जायजेथा राज्यले जफत गर्‍यो  । यसरी सर्वस्व हरण पर्नेमा सुवर्णशमशेर राणा पनि थिए । खासमा बालुवाटारको जमिन तिनै सुवर्णशमशेरको थियो । कांग्रेस नेता सुवर्ण शमशेर पार्टी चलाउन चाहिने खर्चका दाता पनि थिए । उनीसँग मनग्ये धनदौलत थियो ।

त्यो बेला जमिन अधिग्रहण गर्ने कुनै कानुन नभएका कारण सरकारले जबर्जस्ती जमिन हडप्यो । २०२१ सम्ममा सरकारले जग्गा प्राप्ति ऐन जारी गरिसकेको थियो । त्यो बेलासम्म सरकारले ६ वटा अरू दरबार पनि मुआब्जा दिएर अधिग्रहण गर्‍यो । सुवर्णशमशेरको जमिनलाई पनि मुआब्जा दिएरै सरकारले लियो ।

सुवर्णशमशेरका तीन सन्तान कनक, कञ्चन र रुक्म थिए । कनककी छोरी सुनीति, कञ्चनकी छोरी लैलजा, नातिहरू हाटक र हेमन छन् । रुक्मशमशेर राणा तिनै हुन् जो नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भए लामो समयसम्म । रुक्मकी एकमात्रै छोरी छिन् । उनका ज्वार्इं चर्चामा आउन रुचाउने नविल बैंकका सिइओ अनिल शाह हुन् ।

०२१ सालमै प्रतिरोपनी एक लाख क्षतिपूर्ति लिइ राणाहरूले बालुवाटारको जमिन राज्यलाई दिइसकेका थिए । त्यो जग्गा नेपाली सेना सम्बद्ध समरजंग कम्पनीले संरक्षण गर्दै आएको थियो । अर्थात् सो जमिनमा ठूला भौतिक संरचना बनेका थिएनन् । त्यही जमिनलाई ०४९ साल कात्तिक २५ र पुस २३ गते डिल्लीबजार मालपोतले रुक्म शमशेरसमेतका नाममा दर्ता गरिदियो । त्यसअघि सो जमिन पशुपति टिकिन्छा गुठीको नाममा श्रेस्ता कायम भएको थियो । रुक्मसमेतलाई पास गरिएको जमिनको क्षेत्रफल थियो–११२ रोपनी ।

यति गर्नुअघि ठूलो तयारी गरिएको थियो । सरकारलाई नै हातमा लिएर मालपोतले यस्तो काम गरेको थियो । यो धन्दामा सहयोग पुर्‍याउनेमा डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत सुरेन्द्र कपाली, नासु जगत पुडासैनी, खरिदार युक्त श्रेष्ठ थिए ।  त्यस्तै, माथिल्लो तहमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव शरदकुमार भट्टराई, अधिकृत खड्गबहादुर गुरुङ, इन्द्र ढुंगाना र अर्का एक प्रेमबहादुर खापुङ पनि समावेश थिए ।

अराष्ट्रिय तत्त्वका नाममा राज्यले हरण गरेको केही जमिन फिर्ता पाउँ भन्ने माग अनुचित थिएन । तर १२ रोपनी माग्दा ११२ रोपनी फिर्ता गरेर चलखेल भएको थियो । यसरी सरकारले अधिग्रहण गरेर गुठीको नाममा राखेको जमिन पछि गुठीबाट फेरि व्यक्तिका नाममा पारियो । त्यति गर्दा पनि कहिले मोहीले दुःख दिने, कहिले मुद्दा मामिला पर्ने भएका कारण उनीहरूले भनेजसरी बेच्न सकेका थिएनन् । तर ६० साल चैत २५ गते भने राणाहरूले विभिन्न व्यक्तिलाई जमिन बेचे ।  अथवा भनौं राणाहरूको त औपचारिक नाम मात्रै थियो, खासमा जमिन फुत्काउने काम भूमाफियाले नेता र सरकारलाई नै प्रभावमा पारेर गरेका थिए ।

पूर्वसहमतिअनुसार जमिन भागबण्डा गरियो । त्यस्तो भागबण्डामा एक सानो भाग ‘टिप्स’का रूपमा नेपकाका महासचिव विष्णु पौडेलले पनि पाएका थिए । जानकारहरूका अनुसार सरकारी थैली झुण्ड्याएर सबैले हैसियतअनुसार जमिन भाग लगाए । जमिन पछिल्लो समय खरिद गर्नेहरूले पनि विवादास्पद जमिनमा पूरै मूल्य भने हालेका छैनन् । किनभने जमिनमा कुनै पनि बेला किचलो उत्पन्न हुन सक्छ भन्ने ठानेरै अहिलेसम्म सय रोपनी बढी जमिन अहिले पनि बाँझै छ । सो जमिनमा एनआरएन भवन र भाटभटेनीको सुपरमार्केटको स्टोर मात्रै बनेको छ ।

 

 

यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

अनियमितता बालुवाटार

विशेष