'देशलाई समृद्ध बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस्'

'देशलाई समृद्ध बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस्'

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय संकल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन्।

नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् भनेकी छन्।

सन्देशमा उल्लेख गरिएको छ, “मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।”

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नयाँ वर्षको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै २०७६ साल आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गरेका छन् ।

“नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य हो” सन्देशमा उल्लेख गरिएको छ, “हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्छ ।”

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ वर्ष शान्ति, सद्भाव र प्रगतिको होस् भन्ने कामना समेत गरेका छन्।

यसैबीच, नयाँ वर्षकै अवसरमा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा नयाँ जोश जागर कायम होस भन्ने शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्ष विद्यादेवी भण्डारी

संम्बधित खबर

विशेष