News

काठमाडौंमै पुगेनन् किताब, भर्ना भएका विद्यार्थी रित्तो हात फर्किदै

काठमाडौंमै पुगेनन् किताब, भर्ना भएका विद्यार्थी रित्तो हात फर्किदै

काठमाडौं : अधिकांश सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न अझैसम्म रकम प्राप्त गर्न सकेका छैनन्। सरकारले वैशाख २ गतेबाट नयाँ विद्यार्थी भर्ना अभियान थालेको छ।

विद्यार्थी भर्ना भएकै दिन निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने नीति सरकारले लिएको छ। नयाँ भर्ना हुन विद्यार्थी बडो उत्साहका साथ विद्यालयमा पुग्ने गरेका छन्। भर्नापछि उनीहरू रित्तो हात विद्यालयबाट बाहिरिनुपरेको छ।

विगतमा साविकको शिक्षा विभागले साविकको जिल्ला शिक्षा कार्यालयमार्फत् विद्यालयको खातामा रकम जम्मा गरिदिने प्रचलन थियो । अब अर्थ मन्त्रालयले स्थानीय तहमार्फत् विद्यालयको खातामा पाठ्यपुस्तक वापतको रकम जम्मा गरिदिने व्यवस्था छ।  विद्यालयले पाठ्यपुस्तक खरिद गरी भर्ना हुन आएका विद्यार्थीलाई सोही दिन नयाँ पाठ्यपुस्तक दिने नीति छ।

कर्मचारी समायोजन ढिला हुँदा कतिपय स्थानीय तहमा कर्मचारी पुगेका छैनन् भने कतिपयमा भर्खरै पुगेका छन्। नयाँ कर्मचारी अलमलमा हुँदा विद्यालयमा पाठ्यपुस्तक वापतको रकम पठाइएको छैन।

ललितपुरको ज्यामिरेकोटस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद उपाध्यायले अझैसम्म विद्यालयको खातामा रकम जम्मा नभएको गुनासो गरे। ‘विगतमा चैत महिनमै रकम आइसक्थ्यो’ उनले भने, ‘अहिलेसम्म रकम आएको छैन। आएका विद्यार्थीलाई रित्तो हात सकभर नपठाउनुपरे हुन्थ्यो भनेर केही भए पनि निजी स्रोतबाट पाठ्यपुस्तक किनेर ल्याएका छौँ।’

कतिपय विद्यालयका पदाधिकारीले स्थानीय पुस्तक बिक्रेतासँग उधारोमा मागेर पाठ्यपुस्तक ल्याएका छन् भने कतिपयले रकमको पर्खाइमा पाठ्यपुस्तकको व्यवस्थापन गर्न सकेका छैनन्। तनहुँको भिमाद नगरपालिकाका शिक्षा प्रमुख नगेन्द्र पौडेलले आफू भर्खरै सरुवा भइ आएको बताउँदै अब छिटै विद्यालयको खातामा रकम पठाइदिने व्यवस्था गर्ने बताए।

काठमाडौँ महानगरपालिकाका सबै विद्यालय पनि पाठ्यपुस्तक वापतको रकमको प्रतीक्षामा छन्। बल्खुस्थित जनविकास माध्यमिक विद्यालयका लेखापाल सुजन क्षेत्रीले पाठ्यपुस्तकको रकम अझैसम्म विद्यालयको बैंक खातामा जम्मा नभएको बताए।

पुतलीसडकको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइरालाले नजिकैको पसलसँग कुरा गरेर पछि सोधभर्ना दिने गरी उधारोमा पाठ्यपुस्तकको व्यवस्था गरिएको बताइन्।

काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख निर्मला केसीले विद्यालयले विद्यार्थीसम्बन्धी तथ्यांक उपलब्ध नगराउँदा आफूहरूले पाठ्यपुस्तकवापतको रकम उपलब्ध गराउन नसकेको बताउँदै यो समस्या छिटै समाधान हुने बताए। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार गत वर्ष ६८ लाख सात हजार विद्यार्थी कक्षा १ देखि १० सम्म भर्ना भएका थिए।

केन्द्रकाअनुसार करिब ५६ लाख विद्यार्थी सामुदायिक विद्यालयमा छन्। जनक शिक्षा सामग्री केन्द्रले दुई करोड १७ लाख थान पाठ्यपुस्तक छापेको छ। उता निजी क्षेत्रले कक्षा १ देखि ४ सम्म ९६ लाख थान पाठ्यपुस्तक छापेको छ। गोरखापत्र दैनिकबाट लिइएको हो।

अभाव किताब

विशेष