News

ताप्लेजुङ विमान दुर्घटना : 'मल्टिपल फ्याक्टर' केलाउँदै जाँच आयोग

प्रतिवेदन बुझाउन समय लाग्ने

ताप्लेजुङ विमान दुर्घटना : 'मल्टिपल फ्याक्टर' केलाउँदै जाँच आयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन बुझाउन अझै समय लाग्ने भएको छ ।

आयोगले दुर्घटनामा निधन भएकाको भित्री अंगको फोरेन्सिक जाँचको प्रतिवेदन आउन समय लाग्ने भएकोले प्रतिवेदन तयार गर्न अझै महिना दिन लाग्ने जनाएको छ ।

जाँच आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले हेलिकोप्टर निर्माता कम्पनीले छानबिनमा सहयोग पुग्ने गरी केही सूचना दिनुपर्ने हुनाले आफूहरू त्यसको पर्खाइमा रहेको बताए ।

उनले विधि विज्ञान प्रयोगशालाबाट भित्री अंगको वैज्ञानिक परीक्षण प्रतिवेदनसमेत आउन बाँकी रहेको बताए । दुर्घटनामा परेको ‘सिंगल इञ्जिन हेलिकप्टर एच १२५’ फ्रान्सस्थित यूरोकप्टर र एरोस्पटाइलले निर्माण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव समेत रहेका जाँच आयोगका सदस्य बुद्धिसागर लामिछानेले दुर्घटनाको तथ्यगत् जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तय गरेको विधि र प्रक्रिया बमोजिम जुटाउने प्रयास गरिएको बताए ।

जाँच आयोगका सदस्य लामिछानेले ९० प्रतिशत सूचना संकलन गरिसकिएको बताए । आयोगमा संकलित सूचना तथा तथ्यांकको विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको दुर्घटना छानबिन सम्बन्धमा यान्त्रिक अवस्था, सञ्चालन र मौसमको अवस्था, मानव चालक र उडान गतिविधिलाई समेटेर तयार गरेको मापदण्डलाई ध्यानमा राखेर छानबिन भइरहेको सहसचिव लामिछानेले प्रष्ट पारे ।

'दुर्घटना एउटै कारणले भएको भन्ने देखिएन' सहसचिव लामिछानेले ‘मल्टिपल फ्याक्टर’ ले दुर्घटना निम्त्याएको दाबी गरे । उनले दुर्घटनाको कारण मौसम प्रतिकूलता, यान्त्रिक/चालकको त्रुटि वा अन्य केही रहेको सम्बन्धमा निस्कर्ष आउन समय लाग्ने बताए ।

दुर्घटनापछि एकत्रित गरिएको ‘डाटा’ लाई विभिन्न पक्षबाट केलाउने काम भइरहेको आयोगका सदस्य एवं मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए ।

आयोगका अध्यक्ष गौतम सहितको टोली दुर्घटना भएको एक सातापछि दुर्घटनास्थल पुगेको थियो । सिस्नेभीरमा फेरि पुग्नुपर्ने जरुरी भए पनि प्रतिकूल मौसमले पुग्न कठिन भएको आयोगका अध्यक्ष गौतमले बताए ।

हेलीकोप्टर ‘क्रयास’ भएकै दिन मन्त्रिपरिषद्को बैठकले घटनाको छानबीन गर्न गौतमको अध्यक्षतामा सहसचिव लामिछानेसहित नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र क्याप्टेन प्रमोद लामा सम्मिलित जाँच आयोग गठन गरेको थियो ।

फागुन १५ गते एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुंगको सिस्नेभीरमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित उजका अंगरक्षक अर्जुन घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरयाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

रवीन्द्र अधिकारी ताप्लेजुङ हेलिकोप्टर दुर्घटना

विशेष