News

पोखरा विमानस्थलको धावनमार्ग निर्माण पूरा

पोखरा विमानस्थलको धावनमार्ग निर्माण पूरा

काठमाडौं : निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । 'निर्माणको काम आज पूरा भएको छ' उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’

अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो ।

तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल सन् २०२० भित्रै सम्पन्न हुने अधिकारीले दाबी गरे । ‘सन् २०२१ को जुलाइभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्योभन्दा अघि नै यसको काम पूरा हुन्छ’ –उनले भने । सन् २०२० भित्र उक्त आयोजना पूरा भए यो समयअघि नै पूरा हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्नेछ ।

प्राधिकरण अन्तर्गतकै अर्को गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अन्त्यमा निर्माण सम्पन्न हुने भए पनि यसअघि उक्त आयोजनाको लागि दुई वर्ष अवधि थप गरिएको थियो । पोखरा विमानस्थल आयोजना अघि बढेपछि यसको समय थप भएको छैन ।

आर्थिक वर्ष २०७१/७२ देखि राष्ट्रिय गौरवको आयोजना अन्तर्गत अघि बढाइएको यो विमानस्थलको लागत २१ अर्ब ६० करोड अनुमान गरिएको छ । विमानस्थल अन्तर्गत पर्ने करिब १४ ओटा भवन निर्माणको क्रम पनि अहिले जारी छ । ‘अब मुख्य रूपमा टर्मिनल भवन र टावर निर्माणको काम अघि बढिरहेको छ’ उनले भने । डेढ वर्षभित्र त्यो काम पनि पूरा हुनेछ । विमानस्थल निर्माणको काम पूरा भएसँगै उडान सुरु गरिने उनले जानकारी दिए ।

पोखरा विमानस्थल निर्माणका लागि आवश्यक लगानी जुटाउने सन्दर्भमा सन् २०१६ मार्च २१ गते नेपाल र चीन सरकाबीच ऋण सम्झौता भएको थियो । उक्त ऋण सम्झौतामा चीन सरकारले आर्थिक र प्राविधिक गरी ३५ करोड ५९ लाख ३० हजार युआन निब्र्याजीमा उपलब्ध गराउने उल्लेख छ । यसबाहेक चिनियाँ आयात निर्यात बैङ्कमार्फत एक अर्ब दुई करोड २८ लाख १० हजार यूआनसमेत ऋण उक्त आयोजनाका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । उक्त ऋण सम्झौता भएको २० वर्ष अर्थात् २०९२ असोज मसान्तसम्म उपलब्ध गराउनुपर्ने सर्त तोकिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका हुन् ।

पोखरा विमानस्थल

विशेष